Shittalpati
बजार अनुगमनको नाटक किन ?

बजार अनुगमन गर्दा उपभोक्ता हित विपरितका क्रियाकलापमा संलग्न रहने व्यवसायीका सटरमा सिलबन्दी गरिन्छ । गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचार–प्रसार पनि राम्रै हुन्छ । तर, कारवाही भने हुँदैन । जसले गर्दा बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको छ । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन समेत कार्यान्वयन हुँदैन । राज्य पुनर्संरचनापछि बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको छ। आफ्नो क्षेत्रभित्रको बजार अनुगमनसँगै कारवाही गर्ने अधिकार पनि स्थानीय तहलाई दिएको छ भने जिल्लाभित्रको प्रशासन कार्यालयलाई दिइएको छ । बेला–बेलामा अनुगमन भए पनि कारवाही नहुँदा कालोबजारी गर्नेको मनोबल तथा अखाद्य वस्तुको बिक्रीवितरण बढ्ने गरेको छ । केही दिन अघि तानसेन नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनमा ठूलो परिमाणमा अखाद्यवस्तु भेटिएको छ । त्यस्ता अखाद्य वस्तु विक्री गर्ने व्यपारिलाई कारवाही गर्नुको सट्टा सम्झाई बुुझाई गरि छाडिएको छ । यहाँ गरिने हरेक अनुगमनमा विना कारवाही छाड्ने गरिएको छ । यो गलत हो । सधैँ सुझावमात्रै दिने र कारवाही नगर्ने गर्दा मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढेको छ । जसले गर्दा उपभोक्ताहरुले अखाद्य वस्तु उपभोग गर्न बाध्य हुनु परेको छ ।

बजारभरि छ्यापछ्याप्ती गुणस्तरहीन सामान छन् । उपभोग्य मिति सकिएका सामान पनि बिक्रीका लागि राखिएका छन् । कति सामानमा उपभोग्य मिति पनि राखिएका हुँदैनन् । स–साना चिया पसलदेखि होटलहरूमा उत्पादित खाद्य वस्तु खान लायक छैनन् । ठूला भनाउँदा होटल र रेस्टुरेन्टका किचन पनि फोहोर भएको बेलाबेलामा सार्वजनिक हुने गरेको छ । स्तरीय भनेर चिनिएका मिठाई पसलहरूमा झनै गुणस्तरहीन सामान राखिने गरेको छ । मासु पसलहरु समेत उस्तै फोहोर हुन्छ । विषादीबाहेक पनि तरकारीमा धेरै कमजोरी छन् । अधिकार पाएका निकायको अनुगमन चुस्त बनाएर बजारमा गुणस्तरीय सामान बेच्ने वातावरण सिर्जना गराउनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । उपभोक्ताले देख्ने गरी मूल्यसूची राख्नुपर्ने र वस्तुको बिल अनिवार्य रूपमा दिनुपर्ने कानुनी व्यवस्था भएपनि अधिकांश व्यापारीले कानुनको ठाडो उल्लंघन गरेका छन् । वस्तु बिक्री गरेबापत बिल जारी गर्ने विषय धेरै परको बनेको छ । कम्तीमा वस्तुको मूल्यसूचीसमेत राखिने गरेको छैन । यस्तो हुँदा समेत अनुगमन गर्ने निकायले सम्झाई बुझाई गरेर मात्र छोड्ने परिपाटी छ । जसले गर्दा अनुगमन गर्ने कार्य देखावटी र नाटक मात्रै हुने गरेको छ । देखाउन कै लागि अनुगमन गर्ने हो भने यस्ता अनुगमन बन्द गरिनुपर्छ । हैन भने अनुगमनका क्रममा मापदण्ड विपरीतका गतिविध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update