Shittalpati
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु

पाल्पा, गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्युु भयो ।  रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए ।  ८ साउन २०७९ मा रिब्दीकोटको लघुुवामा लुु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाए । १८ पुस २०७८ मा सोही ठाउँमै मलामी  चढेको लु २ ख ७२७९ नम्वरको बस दुर्घटना हुुँदा ७ जनाले ज्यान गुमाउन पुगे । पाल्पामा पछिल्लो समय धेरै संख्यामा मानवीय क्षति हुने गरी भएका यी प्रतिनिधि दुर्घटना मात्रै हुन् । जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार जिल्लामा हरेक वर्ष सवारी दुर्घटना र तिनमा परेर ज्यान गुमाउने तथा घाइते हुनेको संख्या पनि बढिरहेको छ ।

  जिल्लामा चार वर्षको अवधिमा १ सय ९ जनाले ज्यान गुमाएका छन् । २ सय २४ सवारी दुर्घटनामा उक्त संख्यामा यात्रुले ज्यान गुमाएका हुन् । ट्राफिक कार्यालयको तथ्यांकअनुसार चार वर्षको अवधिमा सवारी दुर्घटना बढी भए पनि मानविय क्षति भने कम देखिन्छ । पछिल्लो दुुई वर्षको तथ्यांकलाई विश्लेषण गर्दा भने दुर्घटनाको संख्या कम र मृत्युुको संख्या बढी देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्लका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ४७ सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा यो वर्ष सवारी दुर्घटना कम भए पनि मृत्युुको संख्या भने बढी हो । आर्थिक वर्ष २०७८/०७९ मा ६५ सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । यस्तै आर्थिक २०७६/०७७ मा ५१ सवारी दुर्घटनामा २३ र आर्थिक वर्ष २०७७/०७८ मा ६१ सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । प्रहरीअनुसार सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति, सवारी साधनको अवस्था, मादक पदार्थ सेवन (मापसे) प्रमुख कारण हुन् । सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक र चालकको लापरबाही मुख्य कारण रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख मल्ल बताउँछन् । ‘सडकमा सवारी चाप बढ्दै गएको छ तर सडकको मर्मतसम्भारका काम भने प्रभावकारी रुपमा हुन सकेको छैन । यसले सवारी दुर्घटना निम्त्याइरहेको छ,’ उनले थपे, ‘यसबाहेक सबैजसो दुर्घटनाको अध्ययन गर्दा चालकको लापरवाही पनि मुख्य कारक देखिएको छ ।’

राजस्वमा वृद्धि
जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा सवारी कारवाहीबाट १ करोड ३३ लाख ७३ हजार राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने १९ हजार ८५ सवारी साधनलाई कारवाही गरिएको छ । यो राजस्व आर्थिक वर्ष २०७८÷ ०७९ को तुलनाका बढी हो । आर्थिक वर्ष २०७८/०७९ मा  १ करोड १३ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको थियो । जसमा १८ हजार ४६ सवारी कारवाहीमा परेका थिए । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा  ८८ लाख ५९ हजार ५ राजस्व संकलन  भएको थियो । दुर्घटनाका कारण ज्यान गुमाउनेको सख्या बढ्दै गएसँगै  राजस्वमा समेत वृद्धि भएको हो । ट्राफिक प्रहरीले राजस्व संकलनको कार्य मात्र नगरी सवारी दुर्घटना न्युनिकरण र यातायात तथा ट्राफिक नियमको पालनाको लागि सचेतनाको कार्यक्रम समेत सञ्चालन गर्र्दै आएको छ । उसले विद्यालय, कलेज , समुदाय र सवारी चालकहरुका लागि सचेतनाका कार्यक्रम गर्दै आएको हो ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update