गुल्मी, नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
युनियनले सिर्जनशिल पत्रकारिताको माध्यमबाट समाज र पत्रकारिता जगतमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कालीगण्डकी गाउँपालिका पूर्तिघाटका पुरन राजकोटी र मुसिकोट नगरपालिका वामीका सुरज कार्कीलाई पुरस्कृत गरेको हो । उनीहरुलाई प्रमुख अतिथि युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विशिष्ट अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, पुरस्कारदाता नवजनचेतना दैनिकका प्रधान सम्पादक जगदीश भट्टराई लगायतले नगद ५ हजार ५ सय ५५ र प्रमाणपत्र प्रदान गरेका थिए । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका र सिर्जनशिल रुपमा लाग्ने प्रत्रकारहरुलाई थप प्रोत्साहन गर्न नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरिएको दैनिकका सम्पादक भट्टराईले बताए ।
सोही अवसरमा युनियनले अन्य पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । उसले विपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुमन महतारा, ग्रामीण सिर्जनशिलता एंव उत्कृष्ट पत्रकारिता पुरस्कारबाट दीपा पन्थ, हरिकुमार श्रेष्ठद्वारा स्थापित दिलप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट भुवन भूषाललाई पुरस्कृत गरेको हो । उनीहरुलाई पनि नगद ५ हजार ५ सय ५५ र प्रमाणपत्र प्रदान गरिएको छ ।