Shittalpati
कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल

गुल्मी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कलम चलाउने पत्रकारहरु अपमानित हुन नपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं  साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका लम्सालले कलम चलाउने कुनै पनि पत्रकार अपमानित हुन नपर्ने बताएका हुन् । 

पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरणप्रति लक्षित गर्दै अध्यक्ष लम्सालले सदस्यता शद्धिकरणले कलम चलाउने कोही पत्रकारहरु पनि अपमानित हुनु नपर्ने धारणा व्यक्त गरे । उनले भने ‘पत्रकारिता क्षेत्रमा क्रियाशिल रहने, सधैँ कलम चलाउने पत्रकारहरु सदस्यताबाट बञ्चित हुनुपर्देन, महासंघको अभियानको उद्देश्य पत्रकारितामा काम गर्ने पत्रकारहरुलाई बञ्चित गर्नु होइन, उहाँलाई थप पत्रकारिता पेशामा सक्रिय भएर लाग्न उत्प्रेरित गर्ने र पुराना, अग्रज पत्रकारहरुलाई सम्मान गर्ने हो ।’ अभियानले काम गर्ने पत्रकार अन्यायमा परेको भन्ने व्यापक गुनासो आएको भन्दै उनले त्यस्तो नरहेको स्पष्ट पारे । अध्यक्ष लम्सालले भने ‘अभियानले कुनै पनि पत्रकारलाई अन्याय गरेको छैन, यति त्यस्तो भएकोमा प्रेस युनियनको अध्यक्षको हैसियतले त्यसको जिम्मा मैले लिन्छु ।’ पत्रकारिता पेशालाई मर्यादित बनाउने कुरामा ध्यान दिन पत्रकारहरुलाई उनले आग्रह गरे । 

अध्यक्ष लम्सालले आम जनताले अनुभूति गर्ने गरी काम गर्न सके पत्रकारिता पेशा मर्यादित हुने बताए । उनले स्थानीय सरकारले बनाउने सञ्चार नीति मिडिया मैत्री हुनुपर्नेमा जोड दिए । अध्यक्ष लम्सालले भने ‘कुनै पनि स्थानीय सरकारले बनाउने सञ्चार नीतिमा पत्रकारहरुसँग छलफल नगरी बनाएमा हामी त्यसलाई मान्दैनौं ।’ उनले स्थानीय सरकारले मात्र होइन प्रदेश र संघीय सरकारले पनि मिडिया मैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘अध्यक्ष लम्सालले प्रेस युनियनलाई बलियो बनाउने कुरामा देशभरका शाखाहरुले शशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने ‘हामी छिट्टै देशभरका शाखाहरुबाट पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दैछौं, त्यसका लागि शाखाहरु तयारी अवस्थामा रहनुहोस् ।’ अध्यक्ष लम्साले प्रेस युनियन विधि र प्रक्रिया अनुसार चल्ने धारणा व्यक्त गरे । उनले प्रेस यनियनको विधि नमान्नेहरु सदस्य बन्न नसक्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सबै मिलेर गुल्मीको पत्रकारितालाई माथि उकास्ने काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारिताको विकासमा पत्रकार संगठनहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । 

सभापति पन्थीले पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता सुदृढीकरण अभियानप्रती काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले अभियानले काम गर्ने पत्रकारहरु समेत अन्यायमा परेकाले त्यसतर्फ गम्भीर भएर सोच्न पत्रकार महासंघलाई आग्रह गरे ।  प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकारिता गर्नेहरुका लागि पत्रकार महासंघको अभियान राम्रो रहेको बताए । उनले सक्रिय पत्रकारिता गर्नेहरुका लागि सदस्यता शुद्धिकरण अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उपाध्यक्ष अर्यालले भने ‘पत्रकारिता पेशालाई मर्यादित बनाउनु पनि यो अभियानको उद्देश्य हो, जो हिजो पत्रकारिताको विकासमा योगदान पुर्याउनुभयो, अहिले सक्रिय हुनुहुँदैन उहाँलाई मानार्थ सम्मान गरिनु पर्छ ।’ उनले मिडियाहरु धरासय अवस्थामा रहेकाले पत्रकार टिकाउने विषयमा  पत्रकार संघ संघगठनले ध्यान दिनुपर्ने बेला आएको समेत बताए । पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले पत्रकार महासंघको सदस्यता अभियानका कारण पुराना पत्रकारहरु वैरी बनेको बताए । उनले भने ‘नियत बस अभियान चलाइएको होइन यति त्यस्तो हो भने केन्द्रबाटै सच्याइनुपर्छ, हैन भने पुराना पत्रकारहरु बिच वैरी हुने अवस्था सिर्जना गरिनु हुन्न ।

कार्यक्रममा यनियनका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, प्रेस युनियन लुम्बिनी प्रदेशका सचिव सम्सेर जिसी, इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुंंवर, युनियनका पूर्व जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाल शिक्षक सघका अध्यक्ष खिमबहादुर थापा लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । युनियनका जिल्ला अध्यक्ष रेशम कुंवरको अध्यक्षता, सदस्य मनु सुनारको स्वागत, सचिव रमेश विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update