Shittalpati
काँग्रेस बलियो बनाउने प्रयास

एक वर्षपछि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ । काँग्रेसको विधानभित्र हरेक दुई महिनामा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । तर काँग्रेसले यसो गर्न जरुरी ठानेन । एक  वर्ष पछि मात्र बैठक बस्न सफल भयो । अरु कुराका लागि नभएपनि निर्वाचन समीक्षाका लागि नै भएपनि बैठक बसेर छलफल गर्न जरुरी थियो । आफैले सरकार बनाउने जिद्दीमा माओवादीलाई सरकार सुम्पन पुगेकोदेखि संघीय र स्थानीय चुनावमा पार्टीको क्षयीकरणको कारण पत्ता लगाउन पनि बैठकहरू जरुरी थिए । तर, काँग्रेस पार्टी यी सबै समयमा कानमा तेल हालेर बस्यो । तर ढिलै भएपनि बैठक बस्यो । यस अर्थ पनि बैठकलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।

बैठकले पार्टीलाई बलियो बनाउन सक्छ भन्ने धेरैको आकल छ । बैठकमार्फत धेरै सन्दर्भहरु उठ्न पुगेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । बैठकमा दलको संरचनादेखि नेतृत्वसम्ममा निकै कुरा उठेका छन्, तर तत्कालै त्यसले कुनै परिवर्तन ल्याउला भनेर अपेक्षा गर्न सकिने वातावरण भने छैन । बैठकबाट भातृ संस्थाहरुको अधिवेशन गराउने विषयमा समेत छलफल भएको छ । काँग्रेसले यो डेढ वर्षको अवधिमा भातृ संगठनलाई पूर्णता दिन र विभागहरू गठन गरी जिम्मेवारी बाँडफाँट गर्न नसकेको अवस्थामा यो छलफलले राम्रै हुने अनुमान गर्न सकिन्छ । काँग्रेसले  सदस्यता वृद्धि गर्न अभियान नै चलाउने पनि बताएको छ । यसले कमजोर बन्दै गएको अवस्थामा थप बलियो बनाउने कुरालाई नकार्न सकिँदैन । यसर्थ काँग्रेसले बैठकबाट भएका हरेक निर्णय र छलफललाई कार्यान्वयन गर्न सके आगामी चुनावमा काँग्रेस बलियो बनेर जाने निश्चित छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update