Shittalpati
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो

पाल्पा, देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको  अकालमै ज्यान गएको हो ।  

 केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिरहा, दाङ, धनुषा, झापाका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । सिरहाको सिरहा नगरपालिका–२१ लकडिगोठ मलिया टोलका ४० वर्षीय तपेश्वर यादवको करेन्ट लागेर ज्यान गएको छ । बिहीबार दिउँसो आफ्नै खेतमा धान रोप्न विद्युतीय मोटर पम्पबाट पानी लगाउने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । घाइते उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

 यस्तै दाङको लमही नगरपालिका–३ मिलन चोकका ५९ वर्षीया रूपनी चौधरीको करेन्ट लागेर ज्यान गएको छ । बिहीबार दिउँसो आफ्नै घरको करेसा बारीमा घाँस काट्ने क्रममा मोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा पनि एक जनाको करेन्ट लागेर ज्यान गएको छ । त्यहाँका ५५ वर्षीय कमलदेव यादवको करेन्ट लागेर ज्यान गएको हो । उनी पनि बिहीबार दिउँसो आफ्नै माछा पालन पोखरीमा पानी हाल्नको लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै झापाको दमकमा पनि करेन्ट लागेर अर्को एक जनाको ज्यान गएको छ । दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यू टावरमा वायरिङको काम गर्ने क्रममा करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–४ का ३२ वर्षीय अरुण कुमार जैसवालको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले सबै घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय करेन्ट लागेर ज्यान गुमाएका घटनाहरु बढेका छन् । विद्युतीय साधनको सही प्रयोग गर्न नजान्दा यस्ता घटनाहरु घट्ने गरेको पाइन्छ ।   

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update