Shittalpati
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई

पाल्पा, समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिला भएको छ । साउन पहिलो साता सकिन लाग्दा पनि देशभर जम्मा ६८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धानको बीउ ठूलो भइसक्दा पर्याप्त पानी नपरेकाले ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाएको छ । सिँचाइको सुविधा रहेका अधिकांश क्षेत्रका किसानले रोपाइँ गरिसकेको भए पनि आकाशेपानीको भरमा रहेका किसानले भने अझै रोपाइँ गर्न पाएका छैनन् । गत वर्ष साउनको पहिलो सातासम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो । यस पटक भने २० प्रतिशत कम रोपाइँ भएको हो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कृषि विभाग लगायत सरोकारवाला निकायसँगको समन्वयमा प्रत्येक हप्ताको सोमबार देशभर कति रोपाइँ भयो भनि एकीकृत तथ्या· समेत सार्वजनिक गर्दै आएको छ । कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा रोपाइँ हुन सकेको छैन् ।

यस्तो छ पाल्पा र गुल्मीमा रोपाइँको अवस्था
यति बेला पाल्पा र गुल्मीका फाँटहरुमा धमाधम धान रोपाइँ भइरहेको छ ।  शुक्रबारसम्म पाल्पाका फाँटहरुमा ८८ प्रतिशत र गुल्मीमा ७५ प्रतिशत धान रोपाइँ भएको छ । चैते धान र मकै खेती लगाएका खेतमा ढिला गरी रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पाल्पाका माडी, कचल, अर्गली, पूर्वखोला, पिपलडाँडा, दोभान, झडेवा, रामपुर, गेझा, दर्छा, निस्दी, हुँगी फाँटमा धान रोपाइँ हुने गर्दछ ।  यहाँका पश्चिम भेगका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ । पूर्वका फाँटमा भने अझै बाँकी छ । जिल्लामा टारी खेत र कुलो नलाग्ने क्षेत्रका किसानले पानी ढिला गरी परेकाले विउ पनि ढिला गरिनै राखेकाले रोपाइँमा ढिलाई भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष आठ हजार २ सय १० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ । हिउँदे धानको खेती भने ७ सय २० हेक्टरमा मात्र हुँदै आएको छ । यस्तै गुल्मीका फाँटहरुमा शुक्रबारसम्म  ७५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पानी ढिला गरी परेकाले रोपाइँमा केही ढिला भएको जनाएको छ । यहाँ अघिल्लो वर्ष साउनको पहिलो साता ७६ प्रतिशत रोपाइँ भएको थियो । गुल्मीका सेरा, सिमलटारी, फूलबारी, शिलादी, सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्र, पनाहा खोला, चौरासी फाँट, हुलाके, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, खर्जेङ, मनबाग, आगा, उल्लिखोला, बोआ फाँट, रुरु क्षेत्रः टाहाटिम, घिउबेसी, छम्दी, अर्वेनी, कनौटा, छापचौरमा, लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, मजुवा, रुपाकोट, शान्तिपुर, तल्लाफाँट इन्द्रेगौडा भुवाचिदी, पौदी अरेवा, भर्माचौर लगायतका क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update