Shittalpati
शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री 

पाल्पा, शहिद स्मृति प्रतिष्ठान पाल्पाले विद्यार्थीहरुलाई खेल र शैक्षिक सामाग्री दिएको छ । प्रतिष्ठानले शनिबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा बगनासकाली गाउँपालिका चापपानीस्थित बसन्त प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री प्रदान गरेको हो ।
 विद्यालयमा विपन्न तथा निम्न आय भएका परिवारका बालबालिहरु अध्ययन गर्ने भएकाले पनि थोरै भए पनि उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले सामग्री दिइएको प्रतिष्ठानले जनाएको छ । उक्त सामग्री नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । साम्रगी हस्तान्तरण गर्दै प्रमुख अतिथि पन्तले प्रतिष्ठानले विपन्न विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशसंसनिय रहेको बताए । उनले बीपी स्मृतिको अवसरमा विपन्नहरुलाई सहयोग गर्ने कार्य आफैमा राम्रो रहेको धारणा व्यक्त गरे ।  काँग्रेस नेता पन्तले बीपीको आदर्श र सिद्धान्तलाई अनुसरण गर्न सके मात्र मुलुक समुद्धिको बाटोमा लाग्ने बताए । उनले बीपी. देशको एक कुशल नेता भएको स्मरण गर्दै उनको विचार र आदर्शलाई सबैले अनुसरण गर्न जरुरी रहेको बताए । 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाक सभापति झपेन्द्र गहिरेले नेपाली काँग्रेसमा अहिले सबैले गल्ती कमजोरी कैलाउँदै सच्चिने बेला आएको बताए । उनले प्रतिष्ठानले स्थापनाको छोटो समयमै रचनात्मक कार्य गर्दै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी यमलाल तिमिल्सिना, बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामलाल श्रेष्ठ,  नेपाल महिला संघका अध्यक्ष गंगा पौड्याल  लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिष्ठानले करिव १० हजार बराबरको सामग्री सहयोग गरेको हो । उसले  जिल्ला खेलकुद विकास समितिका कार्यवाक आध्यक्ष दिपक घिमिरे, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, चिदीपानीका पूर्व वडा अध्यक्ष शिव घिमिरे, कान्तिपुर स्टेशनरी, गौरी स्टेशनरी चिदीपानी, नेपाल पुस्तक पसल,पाठक पुस्तक पसल, लाफा स्टेशनरी, जनसेवा पुस्तक पसलबाट शौजन्य प्राप्त भएको सामग्री विद्यार्थीलाई दिएको हो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रमा पन्तको अध्यक्षता, उपाध्यक्ष पोषकान्त बस्यालको स्वागत र सचिव भरत शर्माको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update