Shittalpati
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता  

पाल्पा, पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो । 

विलमा ‘सम्पूर्ण ग्यास रिसर्च प्रालि’ पोखरा –१७ विरौटा, शाखा कार्यालय बुटवल, धनगढी नाम/ठेगाना उल्लेख गरेको कम्पनीले तानसेनमा आइ खाना पकाउने ग्यास,चुलो सम्बन्धी आवश्यक उपकरणहरु विक्री गर्दा बजार मूल्य भन्दा बढी रकम लिएको भेटिएको छ । कम्पनीका कर्मचारीहरुले झोलामा समान राखेर  उपभोक्ताहरुको घर–घरमा पुगी जवरजस्ती ग्यास,चुलोका उपकरणहरु राख्न लगाउने र बजार मूल्य भन्दा बढी रकम लिने गरेको पाइन्छ । उनीहरुले ग्यास, चुलोमा प्रयोग हुने सेफ्टी गार्ड, रबर पाईप, सेफ्टी क्लिक, चुलो सफा गर्ने ब्रस, आईजी टि रेगुलेटर लगायतका सामानमा ४ हजारदेखि १० हजारसम्म लिने गरेका छन् । जब कि तानसेनका बजारमा यी सामानहरुको मूल्य एक हजार ८ सय देखि २ हजार एक सय सम्म पर्दछ । उनीहरुले बिल काट्दा समेत बठ्याइँ गरेका छन । बिलमा प्रत्येक सामानको विवरण सहित परिमाण उल्लेख गरे पनि तिनीहरुको दर भने लेखिएको छैन । बिलमा कूल रकम मात्र उल्लेख गर्ने गरिएको छ । उनीहरुले सर्भिस चार्ज सहित सदस्य शुल्क पनि लिने गरेको पाइन्छ । विक्रेताहरुले आईजी टि रेगुलेटरको मूूल्य २ हजार ६ सय ५० लिने गरेको भेटिएको छ । जब की यसको तानसेनमा बजार मूल्य एक हजार ५ सय पर्ने गरेको छ ।

विक्रेताहरुले तानसेन २ की शान्ति दर्नाल, रनौन हेमचुरी लगायतका उपभोक्तासँग सेफ्टी गार्ड, रबर पाईप, आईजी टि रेगुलेटर एक/एक पिस र सेफ्टी क्लिक दुई पिसको चार हजार लिएका छन् ।  तानसेन २ कै जयती थापासँग सेफ्टी गार्ड, आईजी टि रेगुलेटर, रबर पाईप, दुई/दुई पिस, सेफ्टी क्लिक  ६ पिस र चुलो सफा गर्ने ब्रस एक पिसको १० हजार २ सय ५० लिएका छन् ।  विशेष गरी उनीहरुले बुढाबूढी, केटाकेही र महिला भएका घरहरुमा पुुगी ग्यास र चुलोका समान विग्रीसकेको र टुटफुट भएकाले खतरा रहेको भन्दै आफुहरुले ल्याएका समान किन्न बाध्य पार्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।  

तानसेन २ मेहलधारकी ८१ वर्षीय श्री लक्ष्मी भट्टराईले घर आई रेगुलेटर र पाईप हेरी फुटेको छ प्रयोग गर्न हुन्न यो फड्किने खतरा हुन्छ भन्दै सामान किन्न बाध्य बनाएको बताईन् । उनले भनिन्‘ म घरमै थिए, उनीहरु आएर चुलो र ग्यास हेरे र भने आमा पाईप र रेगुलेटर फुटेका छन्, अर्को फेर्नु पर्छ, यसले जति बेला पनि खतरा हुनसक्छ, त्यसो भने पछि अल्तिर, पल्तिरका बुद्धिजीवीहरुले पनि ति सामान राखेकाले खतरा हुुने डरले पैसा नभए पनि अरुसँग सापट लिएर चार हजारमा किनेकी हुुँ ।’ आफु ठगिएको थाहा पाएपछि लौरो टेकेर जिल्ला प्रहरी कार्यालय आएकी भट्टराईले आक्रोसित हुुँदै भनिन् ‘चोरहरु कहाँ छन् म बूढी मान्छेलाई यसरी ठग्ने हो ।’ तानसेन –२ कै  ७२ वर्षीय सकुर मियाँले चार हजारमा उक्त एक सेट सामान किनेको बताए । उनले तीन दिन अघि घरमै आएका व्यक्तिले ग्यास फड्कीने डर देखाउँदै आफुहरुले ल्याएका  सामान किन्न बाध्य बनाएको बताए । छिमेकीले सामान महँगो परे छ भनेपछि  बल्ल उनले आफु ठगिएको महसुस गरे । यी त केही प्रतिनिधि पात्रा मात्र हुन । उनीहरुबाट धेरै उपभोक्ताहरु यसरी नै ठगिएका छन् ।   

ठगी गर्ने विक्रेता प्रहरी नियन्त्रणमा 
तानसेनका घर–घरमा पुुगेर डर देखाउँदै अधिक मूल्यमा सामान विक्री गर्ने सम्पूर्ण ग्यास रिसर्च प्रालिका कर्मचारी प्रहरी नियन्त्रणमा छन् । उपभोक्ताहरुबाट ठगिएको गुनासो आएपछि शनिबार पाल्पा ग्यास डिलर्स संघले पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघको सहकार्यमा ठगी गर्नेहरुलाई प्रहरीको नियन्त्रणमा ल्याएको हो । ठगी गर्दै हिड्ने ५ जना भए पनि शनिबार तीन जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ । तानसेनको बजार मूल्य भन्दा धेरै नै रकम लिएर उनीहरुले उपभोक्ता ठग्ने गरेको ग्यास डिलर्स संघका जिल्ला अध्यक्ष राजेन्द्र बज्रचार्यले बताए । उनले तानसेनमा दुई हजारसम्म पाइने सामानहरुलाई चार हजार लिने गरेको  बताए । उनले भने ‘ उपभोक्ताहरुलाई डर देखाएर राम्रै सामानलाई पनि विग्रीएको छ भन्दै किन्न बाध्य बनाउने र बजार मूल्य भन्दा अधिक मूूल्य लिने गरेको थाहा पाएपछि उनीहरुलाई सम्पर्कमा ल्याई प्रहरीमा उजुुरी दिइएको हो ।’ उनले विक्रेताहरुलाई कारवाहीसँगै पिडित उपभोक्ताहरुको पैसा फिर्ता हुुनुपर्ने कित बजार मूल्य अनुसार दिनुुपर्ने भन्दै प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले संघको उजुरीको आधारमा विक्रेताहरुको साथमा रहेका सामानहरु नियन्त्रणमा लिएको छ ।
 

विक्रेता भन्छन्‘ हामीले निर्धारण मूल्य अनुसार नै विक्री गरेका हौं’    
सम्पूर्ण ग्यास रिसर्च प्रालिका व्यवस्थापक दामोदर पौड्याल आफुहरुले निर्धारित मूल्य अनुुसार नै सामान विक्री गरेको बताए । उनले आफुहरु पोखरा, बुटवलदेखि आउनुुपर्ने भएकाले केही मँगो पर्न गएको स्वीकार गरे । व्यवस्थापक पौड्याले नेपाल एल.पी.जी. सेफ्टी एण्ड मार्केटीङ्ग एसोसिएसनले निर्धारण गरेको मूल्य अनुसार नै विक्री गरेको दावी गरे । एसोसिएसनले दुई किसिमका आईजी टी रेगुुलेटरको मूल्य फरक फरक राखेको छ । उसले एउटाको २ हजार ६ सय ५० र अर्काको  २ हजार ३ सय ५० मूूल्य कायम गरे पनि विक्रेताले भने कुन रेगुलेटर हो त्यो भने विलमा उल्लेख नगरी २ हजार ६ सय ५०  नै लिएको पाइन्छ ।  अन्य सामानहरुमा पनि यस्तै गरेको भेटिन्छ ।  
 

 पान बिल पनि पुरानै प्रयोग 
विक्रेताहरुले पुरानै पान बिल प्रयोग गरेका छन् । नयाँ आर्थिक वर्ष सुुरु भएपछि बिल नम्वर १ बाट बिल काटिनुु पर्ने व्यवस्था भए पनि उनीहरुले उपभोक्ताहरुलाई दिएको बिल भने पुरानै काटेको देखिन्छ ।  
 

कानुनी कारवाहीका लागि बुटवल पठाइयो    
  उपभोक्ता ठगी गर्नेहरु माथि आवश्यक अनुुसन्धान गरी कानुुनी कारवाहीलाई आन्तरिक राजस्व कार्यालय बुुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी बन्धुु प्रसाल बास्तोलाले बताए । उनले  कम्पनी पोखरामा दर्ता भएकाले कर सेवा कार्यालबाट हेर्न नमिल्ने भए पछि आन्तरिक राजस्व कार्यालयमा पठाइएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माले पाल्पा ग्यास डिलर्स संघको उजुुरी र उपभोक्ताहरुको गुनासोका आधारमा विक्रेताहरुलाई नियन्त्रणमा लिई सबै कागजातसहित बुटवल पठाइएको बताए । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update