Shittalpati
बीपी र पुष्पलालको विचार अनुसरण गरौं

बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन् । हरेक वर्ष साउन ६ गते बीपी कोइरालालाई र साउन ७ गते पुष्पलाल श्रेष्ठलाई सम्झने गरिन्छ । यी दुई यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनकालमा नेपालका दुई फरक राजनीतिक धारलाई नेतृत्व दिए । उनीहरूको निधनको लामो समयपछि पनि दुवै व्यक्तित्व नेपालको राजनीतिमा अत्यधिक चर्चामा छन् । उनीहरूका कृति पनि मान्छेले खोजीखोजी पढ्छन् । उनीहरूको मृत्युपछि पनि नेपाली राजनीति उनीहरूकै विचारबाट आजपर्यन्त अनुप्राणित एवम् ध्रुवीकृत छ । नेपाली कांग्रेसका संस्थापक बीपीलाई उनको पार्टीसहित प्रजातन्त्रप्रति आस्था राख्ने दल, समूह र व्यक्तिले आदर्श मान्छन् । अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन् 

बीपीको ४१ औँ र पुष्पलालको ४५ औँ स्मृति दिवस मनाइँदै गरिएको यस घडीमा उनीहरुको देशप्रतिको योगदानलाई हेर्ने हो भने निकै उच्चरुपमा विद्यमान रहेको पाइन्छ, जुन धेरैका लागि प्रेरणाको विषयसमेत रहँदै आएको छ । देशमा राजनीतिक परिवर्तनका निम्ति जीवनको अन्तिम घडीसम्म नै लडिरहेका बीपी कोइरालालाई प्रजातन्त्र र समाजवादका प्रणेताका रुपमा लिइन्छ । देशमा प्रजातन्त्र स्थापनाका लागि जीवनपर्यन्त लागिरहने बीपीले राजनीतिमा गरेको समर्पण र त्याग आज पनि धेरैका लागि प्रेरणाको रुपमा रहिरहेको छ । बीपी विचारको अन्तिम निष्कर्ष हो– मानिस ठूलो बन्न नखोज, असल बन । ठूलो बन्ने चाहनाले हिंसा, परपीडन, युद्व, संघर्ष, विभेद, विभाजन आदिलाई मलजल गर्छ । यो उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनको मेलमिलापको नीतिलाई नेपाली राजनीतिमा एउटा कोशेढुङ्गाको रुपमा समेत लिने गरिएको छ । बीपीजस्तो राजनेता नेपाली कांग्रेसले अर्को प्राप्त गर्न नसक्नुलाई निकै विडम्बनाको रुपमा लिन सकिन्छ । यस्तै नै नेपाली राजनीतिका अर्का महारथि पुष्पलाल हुन् । कम्युनिष्ट आन्दोलन अहिले दिशाहीनरुपमा पुगेको छ । जुन सोच र परिकल्पनाबाट प्रेरित रहँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा र परिभाषा पुष्पलालले दिएका थिए त्यसको साकार रुप अहिले नपाइनु दुर्भाग्य हो । कम्युनिष्टहरुले पुष्पलालको सोच, विचार र सिद्धान्तलाई अनुसरण नगर्दा पार्टी र देश बन्न नसकेको हो । अहिले बीपीको परिकल्पनाअनुसार न नेपाली कांग्रेस अघि बढ्न सकेको छ न पुष्पलालको सोचलाई नै मूर्तरुप दिन कम्युनिष्टहरु । यसर्थ बीपी र पुुष्पलालले नेपाली राजनीतिकमा पु¥याएको योगदानको कदर, सम्मान गर्दै अनुशरण गर्न सके मात्र उनीहरुको सम्झना गरेको ठहर छ । अन्यता स्मृति औपचारिकतामै सिमित बन्न पुुग्छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update