Shittalpati
पुष्पलाल र बीपीः सम्झने मात्र कि उहाँहरुबाट सिक्ने पनि ?

गोविन्द भट्टराई
हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरुले उहाँहरुको योगदानबारे चर्चा गर्दै अब हामी पनि उहाँले देखाएको मार्गमा हिड्छौँ भन्छन् । कार्यक्रमस्थलबाट बाहिरए पछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको छ । सदभाव, सदाचार हराएको छ । मनमोहन अधिकारी, मदन भण्डारी जस्ता पुष्पलालका राष्ट्रभक्त अनुयायी देशले पाउन सकेन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता बीपीका अनुयायी  निस्वार्थी नेता देशले पाउन सकेको छैन ।  बीपी र पुष्पलाल आजपर्यन्त साझा नेताको रुपमा स्थापित भएका छन् । यसर्थ बीपी र पुष्पलाल सम्पूर्ण नेपालीजनका शिर्ष व्यक्तित्व हुन भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले बीपीलाई आफ्नो कित्ताको मात्र नेता ठानेर बखान गर्न रुचाउँछन् तर उहाँहरुबाट आफूले के सिके ? समीक्षा गर्न सकेका छैनन् ।

रामेछापको भंगेरीमा जन्मेका पुष्पलाल आम नेपालीको मनमनमा पुग्नसके । विराटनगरका बीपी सबैका नेता बन्न सके । मूलतः नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा पुष्पलाल र नेपाली काँंग्रेसको स्थापनामा बीपीको योगदान छ । दुवैले राष्ट्र तथा पार्टी हितका लागि त्याग गरेका छन् । दुवै नेताले अन्ततः कम्युनिष्ट र काँग्रेस मिलेर मात्र निरङकुश पञ्चायती ब्यवस्थाको अन्त्य गर्न सकिने तथ्य मनन् गर्न पुगेका थिए । बि.सं.२०४६ को संयुक्त जनआन्दोलन त्यही आधारमा अगाडि बढेको इतिहास साक्षी छ । नेपालको समग्र विकासका लागि कांग्रेस र कम्युनिष्टले सहयात्रा गर्न सक्नुपर्छ भन्ने तथ्य बीपीका कान्छा भाइ पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले समेत प्रौढअवस्थामा मनन गर्नु भएको थियो । मनमोहन अधिकारी, साहना प्रधान, गणेशमान, कृष्णप्रसाद भट्टराईले २०४६ को जनआन्दोलन ताका नै संयुक्त जनआन्दोलनको मर्म बुझिसक्नु भएको थियो । दुःखको कुरा आसेपासेहरुको कुरा, परिवार र पार्टीभित्रको खिंचलोले काँग्रेस, कम्युनिष्ट पार्टीका शिखर ब्यक्तित्वहरु नै ऐन मौकामा चुकेको घटनाहरु नजरअन्दाज गर्न हुँदैन । २०५२ बाट आरम्भ नेकपा माओवादीको सशस्त्र आन्दोलनलाई सुरक्षित अवतरणका लागि २०६२/६३ को आन्दोलनमा तत्कालीन कम्युनिष्ट—कांग्रेस पार्टीका शिर्ष नेताहरुको समेत यथोचित भूमिका रहेको सन्दर्भ समेत स्मरण गर्न जरुरी छ । यी कुरा थाती राखौँ, पुष्पलाल र बीपीबाट वर्तमानमा हाम्रा नेताले के सिके ? आम नेपालीका सपना पूरा गर्न वा संघीय लोकतानित्रक गणतन्त्र संस्थागतका लागि उनीहरुले पुष्पलाल र बीपीबाट के प्रेरणा लिए ? पार्टी जीवन वा आफ्नै जीवन— ब्यवहारमा के लागू गरे ? चुरो कुरोमा छलफल गरौँ भन्ने पंक्तिकारको आग्रह हो ।  संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको डेढदशक अवधि नाघिसकेको छ ।

देशमा तीन तहका सरकार रहेका छन् । सिंहदरवारको अधिकार गाउँ–गाउँमा विकेन्द्रित गरिएको भनिन्छ तर ब्यवहार गाउँ विकास समितिबाट भन्दा पालिकाहरुबाट प्रवाह गरिने सेवा आम नागरिकका लागि असहज बनेको गुनासो छ । भूगोल नमिलेका व्यथा, सेवा प्रवाहका जटिल प्रक्रिया, राम्रा भन्दा हाम्रालाई टाकुरे लगाउने प्रवृत्ति गणतन्त्रमा पनि उस्तै छ । पार्टीका नेता, कार्यकर्ता हुन वा पार्टी बलमा चुनाव जितेका अन्य निर्वाचित जनप्रतिनिधिको भूमिका आयोग पास गरेको कर्मचारीको जत्ति पनि नभएको गुनासो सुनिन्छ । कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले पुष्पलाल आफूहरुको आदर्श बताउन रुचाउँछन तर ब्यबहारमा सामन्त प्रवृत्ति हटेको छैन् । जीवन शैली फेरियो तर आम सर्वसाधारण नेपालीको हालत उस्तै छ । संविधानले ब्यवस्था गरेको मौलिक हक उपभोग गर्न नपाएको गुनासो प्रति नेता, जनप्रतिनिधि बेखवर छन ? वा सम्बोधन गर्न आवश्यक ठानेका छैनन् ? नागरिकले हेरेका छन् । भाषण, भत्ता र सत्ताको सेरोफेरोमा पुष्पलाल र बीपीलाई आफ्नो आदर्श ठान्नेहरु केन्द्रित हुनु दुःखद कुरा हो । निजी सम्पत्तिलाई महत्व दिने स्वार्थी प्रवृत्तिका  हाम्रा नेता कार्यकर्ताकै कारण निष्ठाको राजनीति ओझेलमा परेको छ । हिजो बीपीलाई आज पुष्पलाललाई स्मरण गरेर मात्र कतब्य पुरा हुँदैन बरु उहाँहरुको असल कर्म, योगदानबाट शिक्षा लिन जरुरी छ । त्यसो गर्न सके मात्र उहाँहरुलाई सच्चा श्रद्धाञ्जली दिएको ठहर्ने छ ।

(लेखक स्वतन्त्र पत्रकार तथा नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक/प्रकाशक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update