Shittalpati
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर

पाल्पा, कोरियामा पाँच वर्ष बसेर काम गरी फर्केकाहरुलाई पुनः जाने अवसर दिइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि फेरी जान चाहेमा  पुनःभाषा परीक्षा दिएर जान सक्ने अवसर दिएको हो । जसका लागि परीक्षा लिन आवेदन खुला गरिएको  छ ।

 कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने छ । उक्त भाषा परीक्षा आगामी भदौ १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ । इपिएस कोरिया शाखाले एक सूचना प्रकाशित गरी नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारी अन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको जनाएको छ । शाखाद्वारा प्रकाशित सूचनाअनुसार आवेदश नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदार हुनुपर्ने छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ । फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update