गुल्मी, जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको शुभारम्भ गर्दै उनले सबै किसानको गोठमा पुगेर खोप अभियानलाई प्रभावकारी बनाउन र पशु प्राविधिकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरे । लुम्बिनी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गरेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्राालयका पशु विकास अधिकृत हुमकान्त पाण्डेयले बताए । संक्रमण नियन्त्रण गर्न १५ हजार खोप गुल्मी आएको छ । पालिका स्तरमा सात हजार पाँच सय ३४ पशुचौपायालाई खोप लगाईएको केन्द्रले जनाएको छ ।
पहिलो चरणमा सबै पालिकामा स्थानीय तहका पशु प्राविधिकहरुलाई प्रशिक्षणसहित खोप उपलब्ध गराइएको छ । संक्रमणको आधारमा दुई हजार पाँच सय खोप वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए । हालसम्म तीन सय २७ वटा गाईगोरु र पाँच भैसीराँगा मरेका छन् भने आठ हजार छ सय चार पशु संक्रमित छन् । धेरैजसो गाईगोरुमा सक्रमण देखिएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी गाई गोरु नै रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी डाक्टर मदन भण्डारीले जानकारी दिए ।