नेपाल कृषि प्रधान देश हो, तर अधिकांस कृषिजन्य वस्तु बाहिरबाट आयात हुुने गरेको छ । देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भएपनि कृषिजन्य वस्तुको आयात बढ्नु चिन्ताको विषय हो । मुलुकको समग्र निर्यातलाई दिगो बनाउने हो भने पनि कृषिजन्य वस्तुको निकासी बढाउनैपर्छ । हाम्रोमा औद्योगीकरण गरेर वस्तु निर्यात गर्ने सम्भावना निकै कम छ । नेपालमा दुई खर्बभन्दा बढीको आयात हुनु विडम्बनाको विषय हो । उद्योगका लागि आवश्यक पर्ने कृषि कच्चा पदार्थका लागि पनि विदेशकै भर पर्नु परेको छ । नेपालमै सजिलै उत्पादन गर्न सकिने अन्य वस्तु उत्पादनभन्दा आयातमै अर्थतन्त्र निर्भार हुँदा व्यापार असन्तुलन बढिरहेको छ । कृषिमा ६७ प्रतिशत जनता आश्रित भए पनि कृषि आधुनिकीकरण र व्यावसायीकरण हुन नसक्दा उल्लेख्य मात्रामा कृषिजन्य वस्तु आयात भइरहेको हो । अब यो क्रम रोक्न सरकारले नीति बनाउने मात्रै होइन, कार्यान्वयन गर्न चासो दिनुपर्छ । यसअघि प्रतिबद्धता जनाएका लगानीकर्ता अहिले पनि आउन सकेका छैनन् भने नयाँ लगानीकर्ता पनि प्रतिबद्धता जनाउन आइपुगेका छैनन् । यो दुखको कुरा हो । सरकारले हराएका र नयाँ लगानी भित्र्याउन मात्रै होइन, टिकाउने कुरामा पनि ध्यान दिनुपर्छ ।
नेपालले धेरै कृषिजन्य वस्तुु आयात गर्छ भने कम मात्रमा निर्यात गर्दै आएको छ । यस्तै अवस्था रहने हो भने देशको अर्थतन्त्र निकै कमजोर बन्ने निश्चित छ । कृषि उपजको निर्यात बढ्नु भनेको सिधँै गरिब किसानका हातमा थप पैसा पुग्नु हो । एउटा व्यवसायीले उत्पादन गरेको वस्तु तथा सेवा निर्यात हुँदा अप्रत्यक्ष फाइदा धेरैलाई पुग्ला, तर सबैभन्दा बढी नाफा व्यवसायी र सरकारलाई हुन्छ । किसानका उत्पादन बेचिनु गरिब किसानको आयस्रोत बढ्नु हो । जनताको आयस्रोत बढ्नुु भनेकै देशको अर्थतन्त्र बलियो हुनुु हो । यसर्थ बढी भन्दा बढी कृषि जन्यवस्तुको आयात घटाई निर्यात बढाउने कुरामा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।