Shittalpati
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु

गुल्मी, जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।

 कार्यक्रमका लागि भर्ना खुला गरिएको शिक्षालयका अध्यक्ष शेरबहादुर थापाले बताए । विगत ३ वर्ष देखी  स्तरोन्नती गर्ने क्रममा शिक्षालय बन्द रहेको थियो । २५ वर्ष देखि यस शिक्षालयमा अनमी तथा सि.एम.ए कार्यक्रम सञ्चालन रहेको थियो । यहाँ अध्ययनका लागि रोल्पा, डोल्पा, मुगु, जुम्ला लगायतका  जिल्लाबाट समेत विद्यार्थी आउने गर्दछन् । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिभिटिबाट मान्यता प्राप्त टेक्निकल शिक्षालय हो । शिक्षालयबाट उत्पादित करिब ६० प्रतिशत जनशक्ति सरकारी सेवामा आवद्ध रहेका छन् । ३० प्रतिशत विद्यार्थी नीजि क्षेत्रमा कार्यरत रहेको शिक्षालयले जनाएको छ ।  उत्पादित जनशक्ति हाल जिल्लाको पालिका तथा हेल्थ पोष्टहरुमा स्वास्थ्य संयोजक तथा कार्यालय प्रमुखको रुपमा सेवारत रहेको अध्यक्ष थापाले बताए ।  शिक्षालयबाट तीन हजार बढी जनशक्ति तयार गरिसकिएको उनले दावी गरे ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update