पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाकोे आयोजनामा जिल्ला स्वास्थय कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा र औषधी व्यवसायी संंघ, तानसेन नगरपालिका, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिीतमा औषधि पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा तानसेनका अधिकाशं औषधी पसलहरुमा म्याद गुज्रिएका औषधि राखिएको, पसलहरुमा सजाएर राखिने औषधीहरुमा धूलो,मइलो लागेको ,पसलहरु दर्ता नभएको,ल्याव टेस्टका दर, मूल्य सूची नराखी मनपरी रुपमा औषधीको विक्रि गर्दै आएको, नविकरण नगरिएको, विना इजाजत प्रयोगशाला सञ्चालन गरेको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको पाइएको छ । टोलीले तानसेनको शितलपाटी, सिल्खानटोल, विशालबजार, बसपार्क लगायतका २० वटा औषधि पसलहरुमा अनुगमन गरेको थियो । तानसेनमा एक बर्षदेखी बजारमा औषधिको अनुगमन हुन सकेको थिएन् । बजार अनुगमन नियमित नहुँदा बजारमा औषधि जन्य सामानको मुल्य मनपरी लिएको, म्याद गुज्रिएका औषधि विक्रि गर्ने गरेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरका फार्मेसीको अनुगमन गर्न निर्देशन गरेसँगै तानसेनमा पनि सोमबार अनुगमन गरिएको हो । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिन मन्त्रालयले अनुगमनलाई अगाडि बढाइएको छ । औषधि व्यवस्था विभागले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारवाही गरिने जनाएको छ । देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ । –अनिल लिगल