Shittalpati
पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको खोजी

पाल्पा, पाल्पामा थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । कयौं पर्यटकीय स्थलहरुको पहिचान हुन सकेको छैन भने पहिचान भएकाहरुको उचित प्रचार–प्रसार हुन सकिरहेको छैन । विश्वभर फैलिएको कोरोना महामारीका कारण पाल्पासहित देशैभरको पर्यटन व्यवसाय सुस्ताएको छ । सुस्ताएको  पाल्पाको पर्यटन व्यवसायीलाई  व्यापक प्रचार–प्रसार गरी जुरमुर्राउने र नयाँ पर्यटकी गन्तव्यको खोजी गर्ने प्रयास थालिएको छ ।

जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाले पहिचान हुन नसकेकाहरु पर्यटकीय स्थलहरुको खोजी र पहिचान भएकाहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले पाल्पामा पदयात्रा अभियान सञ्चालन गरेको छ । उसले तानसेन नगरपालिका, टुरिजम एक्सन कमिटी तानसेन र नाट्टा लुम्बिनी प्रदेशसँगको सहकार्यमा साउनको पहिलो शनिबारदेखि पदयात्रा सुरु गरेको हो । साउन भर हरेक शनिबार पदयात्रा हुनेछ । पदयात्रामा जिल्लाका सम्भाविभत नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्नुको साथै गन्तव्यका रुपमा पहिचान बनाईसकेकाहरुको प्रचार–प्रसार गरिने छ । कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन पदयात्रा अभियान सुरु गरिएको नाट्टा पाल्पाका अध्ययक्ष राजीव शाहाले बताए । उनले भने ‘नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’ पाल्पा पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले यहाँका नयाँ पर्यकीय स्थलहरुको खोजी गर्न लागेको शाहले बताए । ‘जिल्लामा पहिचान भएका र पहिचान हुन नसकेर ओझेलमा परेका  धेरै नै पर्यटकीय स्थलहरु छन्, तर तिनको खोजी र उचित प्रचार–प्रसार हुन नसक्दा अझेलमा छन्, तिनीहरुको खोजी र प्रचार–प्रसार गर्न अभियान महत्वपूर्ण हुने विश्वास लिएको छु’ नाट्टा पाल्पाका सल्लाहकार तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जनले एनजेडीसँगको कुराकानीमा भने । उनले हेर्न लायक र घुम्न लायक थुप्रै पर्यटकीय स्थलहरु भए पनि तिनको खोजी गर्न नसकिएको बताए । ‘आन्तरिक पर्यटकलाई देखाउने पर्यटकीय स्थलको सूचीमा नयाँ गन्तव्य हुनुपर्छ, पुरानै गन्तव्यले मात्रै अब पर्यटनको क्षेत्र उकास्न सकिँदैन’ अध्यक्ष महर्जनले भने । 

पहिलो पदयात्रा तानसेनदेखि थाम्केडाँडासम्म
साउनको पहिलो शनिबारदेखि पदयात्राको शुभारम्भ गरिएको छ । तानसेनको भगवती मन्दिरबाट सुरु गरिएको अभियानको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । उनले तानसेनको पर्यटकीय क्षेत्रको विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यहाँका आकर्षक गन्तव्यहरूको प्रचार हुन सकेको छैन,पोखरा जाने पर्यटकहरूले यहाँ रमाउन चाहन्छन्’, नगरप्रमुख श्रेष्ठले भने । 

आन्तरिक तथा बाÞय पर्यटकलाई घुमाउन यहाँका गन्तव्यहरुको उचित प्रचार गरिनुपर्नेमा उनले जोड दिए । नगर प्रमुख श्रेष्ठले तानसेनको पर्यटन विकासका लागि नगर सरकारले आवश्यक सहयोग गर्ने समेत बताए । पदयात्रामा निस्किएको टोलीले चण्डीभञ्ज्याङमा सय वर्ष अघि बनेको सुरुङ्गको अवलोकन गरेको थियो । पाल्पाका तत्कालिन तैनाथवाला प्रताप शमसेरले तानसने बजारको खानेपानीको लागि उक्त सुरुङ्ग बनाउन लगाएका थिए । त्यहाँको अवलोकनपछि चण्डीभञ्ज्याङ माथिको चचिकोटको अवलोकन गरियो । जहाँ तत्कालीन राजाका पुजारी रतन पाँडेको गन्तव्य हो । त्यहाँबाट बौघापोखराथोकस्थित थाम्केडाँडामा पुगी मनोरम हिमश्रृंखलाको हेरिएको थियो । पदयात्रामा निस्किएको टोलीलाई बौघापोखराथोकमा भव्य स्वागत समेत गरिएको थियो । उनीहरुलाई तानसेन नगरपालिका १२ का वडा अध्यक्ष मेजर सिंह केसी, नेविसंघका नेता कृष्णबहादुर आले, क्याम्प फायर स्टेशनका सञ्चालन रामचन्द्र नेपाल लगायतले त्यहाँका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराएका थिए । पदयात्रामा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गरेका छन् । टोलीले यो महिनाको प्रत्येक शनिबार तानसेनसहित जिल्लाका सम्भावित पर्यटकीय स्थलहरुको पैदल यात्रा गर्ने छन् । प्रत्येक शनिबार नै एउटा–एउटा नयाँ गन्तव्यको खोजी गरिने नाट्टाका जिल्ला अध्यक्ष राजीव शाहले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update