Shittalpati
भ्रष्टाचारमा संलग्न कसैलाई नछोड

भ्रष्टाचार नेपालको वर्षौदेखिको समस्या हो । देशको विकासले गति लिन नसक्नुको मुख्य कारण पनि यही भ्रष्टाचार नै हो । देशभित्र भ्रष्टाचार छ भन्ने  कुरा सत्तामा पुग्ने जुनसुकै सरकारलाई राम्रोसँग ज्ञान छ । कुन–कुन निकायमा भ्रष्टाचार छ त्यसको बारेमा पनि राम्रो जानकारी छ । भ्रष्टाचार कसरी हुन्छ भन्ने पनि राम्रो हेक्का छ । विगतका सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नारा बनाए तर कार्यान्वयन भने गर्न सकेनन् । उनीहरुले भ्रष्टाचार नियन्त्रण गर्नका लागि धाराको टुटी मात्र बटार्दै आए तर मुहान सफा बनाउनेतर्फ खासै ध्यान दिन सकेनन् । वर्तमान प्रचण्ड नेतृत्वको सरकारले भने मुहान सफा गर्ने काममा अग्रसरता देखाएको छ । जुन सकरात्मक र स्वगातयोग्य छ । सरकारका पछिल्ला केही कदम हेर्दा मुलुकमा भ्रष्टाचारमा केही कमी आउन सक्छ कि भन्ने आश जगाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डमा देखाएको सक्रियताले भ्रष्टाचारमा केही कमी आउने आशा गर्न सकिन्छ । मौलाउँदै गएको भ्रष्टाचार र अनियमिताका कारण विकास समेत अवरुद्ध बनेको छ । त्यति मात्र होइन्, जनताले सुशासनको प्रत्याभूति समेत गर्न नपाएको अवस्थामा वर्तमान सरकार सचेत हुँदै बडो जिम्मेवारीका साथ जनताको उत्कृट चाहना पूरा गर्ने बाटोमा इमान्दारिताका साथ अग्रसर भएको छ । सरकारको भ्रष्टचारविरुद्धको कदमको जनस्तरबाट प्रसंसा भएको छ । सरकारले खोलेका भ्रष्टाचारविरुद्धका फाइलहरुलाई टुंगोमा पुर्‍याउने काममा तदारुकता देखाउन आवश्यक छ । सरकार यदि वास्तविकरुपमा भ्रष्टाचारविरोधी अभियानमा लागेको हो भने ललितानिवास काण्ड र पछिल्लोपटकको सुन काण्डका दोषी जोसुकै भए पनि छोड्नुहुँदैन । उनीहरु सबैलाई कारवाहीको दायरामा ल्याउन सकिएमा मात्रै सरकार भ्रष्टाचार न्यूनीकरण गर्ने कार्यमा सफल हुन सक्छ । अन्यथा सरकारकै लागि प्रत्युत्पादक बन्न सक्ने निश्चित छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update