Shittalpati
सरकार, प्रधानमन्त्री र नैतिकता

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय विवादित बन्दै गएका छन् । उनी भ्रष्टाचार र अनियमितामा संलग्न मन्त्रीहरुको बचाउदेखि लोकतन्त्र र संसदीय मूल्य मान्यता विपरीतका निणर्यहरुले विवादमा फस्दै गएका छन् । राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी विवादास्पद् दुई वटा अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्रीलाई नैतिक प्रश्नले घेरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेता बिनै परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चौतर्फी विरोध भएपछि राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । तर कोरोना महामारीका बीच ल्याइएका अध्यादेशको औचित्य पुष्टि गर्न नसकेर फिर्ता भएपछि सरकार र त्यसको नेतृत्व समालेका प्रधानमन्त्री केपी ओलीको नैतिकता माथि प्रश्न उठेको छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सत्ता र प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न बर्साएका छन् । अध्यादेश फिर्ता भएपनि नैतिकताको प्रश्न भने कायमै रहेको छ । बेमौसमको बाजा बजाउँदै देश कोरोना भाइरसको संक्रमणले आक्रान्त रहेको, गरीब, दैनिक ज्यालादारी मजदुर र किसान रोइरहेको समयमा संकट समाधानमा कुनै साइनो नराख्ने अध्यादेश ल्याएर विषयान्तर गर्ने जुन कोशिस भए ती देश र जनता विरोधी थिए । त्यस्तो कदम अन्ततः प्रधानमन्त्री ओलीका निम्ति आफू भासिने खाडल आफैंले खनेजस्तो बन्न पुग्यो । प्रधानमन्त्री लोकतन्त्र, विधिको शासन, नागरिक आवाज र सञ्चार माध्यमको दबाबसामु घुँडा टेक्न बाध्य हुनुपर्‍यो ।

यो अत्यन्त लजास्पदको विषय बन्यो । सरकारको प्रमुख कार्यकारी पदमा रहेका व्यक्तिबाट हुने निर्णय क्षणभरमै पास हुने र क्षणभरमै खारेज हुनुले नैतिकता माथि प्रश्न खडा गरिदिएको छ । संसद्बाट पारित भएका विधेयक प्रमाणीकरणमा हप्तौं लगाउने शीतल निवासले अध्यादेश जारी गर्न देखाएको हतारो र अतिरिक्त सक्रियताले राष्ट्रप्रमुखको गरिमालाई समेत विवादमा तान्यो । अब नैतिकताको प्रश्न प्रधानमन्त्री ओलीतर्फ मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ पनि सोझिएको छ । सचेत नेपाली नागरिकले सरकार र प्रधानमन्त्रीसँग नैतिकताको जवाफ खोजिएरहेका छन् । तसर्थ सरकार र प्रधानमन्त्रीले जनतालाई जवाफ दिन सक्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update