Shittalpati
हेपाटाइटिस दिवस र रोकथाम

हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ । हेपाटाइटिस बीका कारण उत्पन्न हुने जटिल स्वास्थ्य समस्याले गर्दा विश्वमा लाखौं मानिसको मृत्यु हुने गरेको छ । ९० प्रतिशत संक्रमितलाई आफू संक्रमित भएको ज्ञान समेत हुने गरेको छैन । विश्वका अधिकांश मुलुकका सरकारले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन्, तर त्यो लक्ष्य पुरा हुनेमा शंका छ । किन भने हेपाटाइटिस संक्रमणको अवस्था थप जटिल बन्दै गएको छ ।

कलेजो सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफै सीमित भएर जान पनि सक्छ । कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने, सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् । यो अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखापर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी छ । समयमा ध्यान नपुर्‍ याउने हो भने यसले विकराल रूप लिने निश्चित देखिन्छ । हेपाटाइटिस सी विरुद्ध अति प्रभावकारी औषधी डीएए (डाइरेक्टली एक्टिङ एन्टिभाइरल) न्यूनतम मूल्यमा उपलब्ध भएलगत्तै धेरै विकासोन्मुख राष्ट्रले पनि हेपाटाइटिस सी निर्मूल गर्ने जमर्को गरेका हुन् तर नेपालजस्तो विकासोन्मुख राष्ट्रमा हेपाटाइटिस उन्मूलन सजिलो पक्कै छैन । जबसम्म हेपाटाइटिस रोग सम्बन्धी राष्ट्रियस्तरमा कुनै नीति बन्दैन र सरकारी निकायबाट प्रभावकारी कार्यक्रम सुरु हुँदैन, तबसम्म हेपाटाइटिसको उन्मूलन लगभग असम्भव नै देखिन्छ । यसर्थ सरकारी तवरबाट आजैदेखि हेपाटाइटिस सम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न ढिला नगरौं ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update