Shittalpati
छोइनसक्नु तरकारी

पाल्पा, तानसेनको बजारमा तीन महिना अघि ४०/५० रुपैयाँमा विक्री भएको गोलभेडाँ अहिले १ सय २० देखि १ सय ३० रुपैयाँमा विक्री भएको छ । सोही समयमा ८० देखि १ सय रुपैयाँमा विक्री भएको बोडी यति बेला १ सयदेखि १ सय २० सम्म विक्री भइरहेको छ । 
    एक महिना अघि बोडी १ सय ५० देखि २ सयसम्म पनि उपभोक्ताले किन्न बाध्य भए । चार महिना अघि ८० रुपैयाँमा विक्री भएको तीते करेला अहिले १ सयदेखि १ सय २० रुपैंयासम्म विक्री भएको छ । गत वर्ष ३५ रुपैयाँ किलोमा बिक्री भएको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । यस्तै गत वर्ष ३५/४० मा विक्री भएको आलु अहिले ४५/५० मा विक्री भइरहेको छ । तरकारीको मूल्य तानसेनका पसलै पिच्छे फरक–फरक भएकाले पनि उपभोक्ता मँहगो मूल्यमा तरकारी किन्न बाध्य छन् । एकातिर तरकारीको मूल्य बढेको छ भने अर्कोतिर पसलै पिच्छे भाउ हुँदा उपभोक्ता मारमा छन् । उपभोक्ताको भान्सामा अनिवार्य प्रयोग हुने यी तरकारीको भाउ महँगो हुँदा भान्सा नै महँगो हुन पुगेको हो ।

तरकारीको मूल्य अचाक्ली हुँदा निम्न आम्दानी भएकालाई दैनिक गुजारा चलाउन हम्मेहम्मे छ । गत वर्षको तुलनामा यो वर्ष अधिकांश तरकारी तथा फलफूलमा मूल्य बढेको छ । तरकारीको भाउ बढेर भान्सा चलाउन हम्मे परेको तानसेन शित्तलपाटीस्थित तरकारी पसलमा भेटिएकी सुनमाया सारुले बताइन् । ‘निम्न तलब हुनेलाई घरखर्च चलाउनै कठिन छ,’ सारुले भनिन् । तरकारीको भाउ बढ्नुमा बिचौलिया प्रमुख कारण हुन् । किसानले कम मूल्य पाएका छन् भने उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन् । महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । तरकारीको मूल्यमा भएको अचाकल्ली वृद्धिले विद्यार्थीहरु बढी मारमा परेका हुन् । अचाक्ली महँगीका कारण अड्कालेको पैसाले साझाँ, विहानको भान्सा चलाउनै सकस भइरहेको विद्यार्थीहरुको गुनासो छ ।

तानसेनको भगवतीटोलमा कोठा भाँडामा बस्दै आएकी बगनासकाली गाउँपालिका ७ की भीमा गाहालाई महंगीले सकस बनाएको छ । विगत तीन वर्षदेखि अध्ययनका लागि तानसेनमा बस्दै आएकी उनी त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । उनी बजारमा भाउ अचाक्ली बढेको बताउँछिन् । घरबाट बुवा आमाले पाँच महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनुहुन्छ तर महंगीले गर्दा त्यो खर्चले दुई महिना पनि धान्न धौंधौं हुने गरेको उनको गुनासो छ । ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई/तीन सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो’ गाहाले भनिन् । ‘कति साह्रो महँगो भएको तरकारी,’ पसलेले एक सय २० रुपैयाँ प्रतिकेजी टमाटर भनेपछि जिब्रो टोक्दै पसल बाहिर निस्किएकी माथागढीकी विष्णु घर्तीले भनिन् । ‘धेरै भएको थियो टमाटर किनेकी थिइन्, टमाटरको मूल्य सुनेर मन कटक्क खायो, बरु नखाने, नकिन्ने’ अठोटमा पुगेकी घर्ती भन्छिन् ।  सारु, गाहा र घर्ती मात्रै होइन दैनिक ज्याला मजदूरी गर्ने र अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरुलाई महंगीले सास्ती खेप्नु परेको छ । बजारमा भित्रिने अधिकांश तरकारी बुटवल, पोखरा, काठमाडौँ र भारतबाट ल्याउनुपर्ने र लगातारको वर्षाले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा समयमा बजार आइनपुग्दा कुहिने, सड्ने लगायतका कारण पनि तरकारीको भाउ तुलनात्मक रूपमा महँगो हुने गरेको तरकारी व्यापारीहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update