Shittalpati
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले पहिरो पीडित परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको छ । साउन ९ गते गाउँपालिकाको वडा नंं ८ फेक लुम्वासका कर्णबहादुर बम्रेलको टिनले छाएको गोठ पहिरोले बगाएको थियो । गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुई वटा गोरु पुरिएर मरेका थिए । पहिरो पीडित कर्ण बहादुरको घरमै पुगेर गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, प्रशासन प्रमुख रुकलाल भट्टराईले क्षतिको अवस्था, हालको बसाईको अवस्था, खानपान, बसोवासको बारेमा जानकारी लिएका छन् ।

पहिरो पीडित बम्रेललाई गाउँपालिकाको टोलीले दुई बोरा चामल, ५ केजी दाल, त्रिपाल र नगद १० हजार सहित राहत प्रदान गरेका छन् । राहत सहयोग प्रदान गर्दै गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय सरकार भनेको घरदैलोको सरकार भएकाले, जनताको दुःख, सुखमा हेर्ने सहयोग र साथ दिने स्थानीय सरकार नै भएकाले पीडामा केही भएपनि सहयोग होस् भन्ने उद्देश्यले घरमै आई सहयोग गरेको बताए । राहत सहयोग लिदै पहिरो पीडित बम्रेलले घरमै आई स्थानीय सरकारले नगद र खाद्यान्य सहयोग गरेर  आफुलाई परेको दुःखप्रति सहयोग र साथ दिएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए ।  उनले सहयोग आफ्नो लागि ठूलो भएको बताए । बम्रेलको पहिरोबाट ५ लाख भन्दा बढी क्षति भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update