Shittalpati
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल

तानसेन, सरकारले भुक्तानी नदिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमाको उपचार सेवा स्थगित गर्ने भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि साउन २१ गतेदेखि  बिमा  उपचार सेवा स्थगित गर्न लागिएको बताएको हो ।

अस्पतालले २०७४ बैशाखदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा स्वास्थ्य बीमा बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम भएकाले आफुहरु बीमा उपचारको सेवा स्थगित गर्ने अवस्थामा पुगेको बताएको छ । अस्पतालकी निर्देशक डा.रचेल कारखले हालसम्मको बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधी उपचारको मुल्य संमायोजन नभएमा बिमा उपचार सेवा पूर्ण रुपमा स्थगित गरिने बताइन् । बिमा बोर्डबाट उपचार वापतको रकम नपाउँदा अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई मासिक तलब खुवाउन,औषधी खरीद गर्न तथा उपचारका उपकरणहरु किन्न समस्या भएको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले गुनासो गरे । बिगत ६ वर्ष देखी पटक–पटक अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई शुल्कको समायोजनको लागि अनुरोध गरे पनि बोर्डले चासो नदिदा बीमा कार्यक्रमको सेवा शुल्कले अस्पतालको दैनिक खर्च धान्न समेत गाह्रो हुने गरेको भट्टराईले बताए ।

बीमाबाट उपचार गराएबापत अस्पताललाई हालसम्मको १२ करोड ८३ लाख तिर्न बाँकी छ । उक्त बक्यौता रकम २०८० साउन २१ गतेसम्म भुक्तानी नगरेमा बीमाबाट हुने सबै किसिमका उपचार सेवा स्थगित गर्ने अस्पताले जनाएको छ । बोर्डले अस्पतालले दिएका सेवाहरुको दावी गर्न सक्ने समयावधि १५ दिन भएता पनि बिगत २ वर्ष सम्मका दावीहरुको भुक्तानी नगरेकाले अस्पताल सञ्चालनमा समस्या आएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update