जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघ संरक्षण सम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ । बाघ प्रकृतिको निःशुल्क उपहारमात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिक रुपले पनि महत्व मानिन्छ । वातावरण सन्तुलनमा यसको महत्वपूर्ण योगदान छ । बाघलाई मात्रै बचाउन सके अरू धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ, तर हिजो आज भने जनसंख्या वृद्धि र मानवीय गतिविधिका कारण विश्वमा बाघको संख्या दिनप्रतिदिन घट्दो छ । हाल विश्वका १३ देशमा मात्र बाघ पाइन्छ र करिब चार हजार बाघ रहेको अनुमान छ । बाघ पाइने देशहरूले गरेका संरक्षणका अथक प्रयासहरूका बाबजुद बासस्थानको नाश, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, चोरीसिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधीले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदै छन् । बेलाबखत मानिसलाई बाघले आक्रमण गरी क्षति पु¥याएको दुःखद समाचार पनि आउने गरेका छन् । यसो भन्दैमा बाघको सरंक्षण गरिनुहुन्न भन्ने हैन । बाघको उचित किसिमले संरक्षण गर्न सकियो भने पनि बाघको आक्रमणबाट हुने क्षति रोक्न सकिन्छ ।
विश्वको तुलनामा नेपालमा बाघको संख्यामा केही वृद्धि भएको छ । यसको उचित व्यवस्थापन गरिएन भने मानवी क्षतिलाई पनि अवश्य बढाउन सक्छ । बाघ संरक्षणसँगै मानवीय क्षति कम गर्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । लोपोन्मुख वन्यजन्तुका लागि उपयुक्त बासस्थान संसारका धेरै ठाउँमा उपलब्ध छैनन् । नेपालमा तिनको संरक्षण गर्ने, लोप हुन नदिने कार्यक्रम सञ्चालन गर्न जरुरी छ । त्यसका लागि बासस्थान बढाउनेदेखि वन्यजन्तुको चोरी÷सिकार र अवैध व्यापार नियन्त्रण गर्नुपर्छ । अब सरकारी तवरबाटै बाघको संरक्षणसँगै समुदायको हितलाई केन्द्रमा राख्ने गरी कार्यक्रम बनाउनुपर्छ । बाघ जस्तै अन्य वन्यजन्तुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गरेर आर्थिक समृद्धि गर्नु आजको आवश्यकता हो । यसो गर्न सकियो भने मात्र हरेक वर्ष जुलाई २९ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले सार्थकता पाउनेछ ।