वर्षासँगै डेंगु संक्रमण बढ्दै गएको छ । अहिले देशका अधिकासं अस्पतालहरुमा डेंगुका बिरामीको चाप देखिन्छ । दिनहुँ डेंगु संक्रमितहरु बढ्दै गए पनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन । अहिले डेंगु महामारी ६९ जिल्ला प्रवेश गरिसकेको छ । गर्मीयामको चरमोत्कर्ष बाँकी नै छ । मनसुनी याम असोजसम्मै रहन्छ, त्यतिबेलासम्म डेंगुको डर जाँदैन, लामखुट्टे सक्रिय भइरहन्छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । गत वर्ष मंसिरदेखि यस वर्षको असारसम्मका आठ महिनामा डेंगुबाट सात जना बिरामीको मृत्यु भइसकेको छ । यस अवधिमा ४ हजार २ सय ८९ जना संक्रमित भएका छन् । सुरुमा डेंगु महामारी आउँदा जुन किसिमले प्रचार–प्रसार र त्यसबाट बच्न उच्च सुरक्षा सतर्कता अपनाइएको देखिन्थ्यो, तर अहिले त्यस्तो देखिदैन । यसले गर्दा पनि संक्रमितको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
पछिल्लो समयमा लापरवाहीका कारण पनि डेंगुबाट संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारी तवरबाट पनि प्रचार संयन्त्रमा महामारीविरूद्धको सतर्कता प्राथमिकतामा परेको देखिँदैन । स्थानीय, संघीय तथा प्रादेशिक सरकारका बिचमा महामारी नियन्त्रणका लागि प्रभावकारी समन्वय र सहकार्य हुन सकिरहेको छैन । यो अत्यन्त दुखद् हो । फैलंदो संक्रमणको अवस्थाममा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नु पथ्यो । त्यसो नहुनु विडम्वना हो । नागरिकहरूले पनि लापरवाही नगरी लामखुट्टेको टोकाईबाट बच्ने कुरामा संवेदनशील हुनुपर्छ । लामखुट्टेले बासस्थान बनाउन नपाओस् भनेर सरसफाइ गर्ने, पानी जम्न नदिने र झाडीहरू भए फाँड्ने गर्नुपर्छ । यसो गर्न सकियो भने पनि केही हदसम्म डेंगु लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोकथाम गर्नु नै उत्तम हो । यसर्थ यसतर्फ सबैले उच्च सर्तकता अपनाउन जरुरी छ ।