पाल्पा, जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाले सञ्चालन गरेको नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी अभियान अन्तर्गतको दोस्रो दिन तानसेनदेखि राम्दीसम्मको पदयात्रा भएको छ ।
पहिचान हुन नसकेकाहरु पर्यटकीय स्थलहरुको खोजी गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान प्रत्येक शनिबार हुँदै आएको छ । अभियानको दोस्रो शनिबारको पदयात्रा टोली तानसेनको दरबार परिसरबाट सुरु भई राम्दी पुगेर फर्किएको थियो । दरबार परिसरबाट पदयात्रामा निस्किएको टोली बग्नासकालीको नायर हुँदै तीन छाँङ्गा गाउँमा पुगेको थियो । त्यहाँ पुगेको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । स्थानीय शिक्षक भोजबहादुर चर्चीले पदयात्रामा पुगेको टोलीलाई त्यहाँको वस्तुस्थितिका बारे जानकारी गराएका थिए । खानीछापका युवा नेता मोहन थापाले तिनछाङे झरनाको इतिहासका बारेमा बताएका थिए । उनले पर्यटन प्रवद्र्धनका लागि त्यहाँ गर्न सकिने भावी योजनाका बारे समेत जानकारी गराए । करिव ४०–५० फुट अग्लो स्थानमा रहेको तीन झर्नाको मनोरम दृश्यले त्यहाँ पुगेको टोलीलाई मोहित बनाएको थियो । उनीहरुले त्यहाँको झरनामा नुहाएर आनन्द लिएका थिए । त्यहाँबाट हिडेको ट्रेकिङको टोली गुरुखोला दुर्गा मन्दिर प्रतिक्षालय पुगी कोणशभामा परिणत भएको थियो ।
स्थानीय व्यक्ति कुलप्रसाद अर्यालले त्यहाँका शम्भाव्य पर्यटकिय क्षेत्र मध्ये तीन छाँङा झरना, चमेरा गुफाको प्रचार र बञ्जिजम निर्माणको अवधारणाबारे स्थलगत अवलोकन गराउदै जानकारी गराएका थिए । उनले यहाँका क्षेत्रललाई पर्यटन प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे । पदयात्रामा गएको टोलीलाई स्थानीय टोपबहादुर गाहाले सहजीकरण गरेका थिए । स्थानीय वडाका जनप्रतिनिधिहरु पनि त्यहाँ पुगेका थिए । टोली मल्याङ हुँदै राम्दी पुरेर तानसेन फर्केको थियो । नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहको अध्यक्षता र लुम्विनी प्रदेश नाट्टाकी अध्यक्ष रचना पन्तको प्रमुख आतिथ्यता र होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिस्वर वस्यालको नेतृत्वमा ३५ जनाको जम्वो टोलीले पदयात्रा गरेको नाट्टा पाल्पा च्याप्टरका सचिव सतिश राज शाक्यले जानकारी दिए । तानसेन नगरपालिका, टुरिजम एक्सन कमिटी तानसेन र नाट्टा लुम्बिनी प्रदेशसँगको सहकार्यमा साउनको पहिलो शनिबारदेखि नाट्टा पाल्पाले पदयात्रा सुरु गरेको हो । साउन भर हरेक शनिबार पदयात्रा हुनेछ । पदयात्रामा जिल्लाका सम्भाविभत नयाँ पर्यटकीय स्थलहरुको खोजी गरिने छ ।