Shittalpati
खिर खाएर मनाइयो साउने पन्ध्र

पाल्पा,  खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।

परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाइएको छ ।अधिकांशले परिवारसँग बसेर खिर खाँदै रमाइलो गरेका तस्वीरहरु सामाजिक सञ्जालमा समेत पोष्ट गरेको देखिन्छ । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि यो खाने प्रचलन रहेको हो । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ , तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेर गएको छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिने भएकाले इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको पुराना बूढापाहरुको भनाई छ । साउन भगवान् शिवको महिना पनि हो । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update