विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्मलाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिएको छ । स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । बच्चा जन्मेको जति सक्दो छिटो वा एक घन्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु स्तनपानको मूल सन्देश हो । आमाको दूध बच्चाका लागि अमृत समान हो । सुरुमा आउने बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । यसले बच्चालाई झाडापखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउँछ । सजिलै पचाउन सक्ने आमाको दूधले शिशुको वृद्धि विकासमा ठूलो मद्दत पुर्याउँछ । पूर्ण स्तनपान गराएको बच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ, तर पछिल्लो समय जन्मेदेखि नै आमाको दूूधसँगसँगै बजारमा पाइने दूध समेत खुवाएको पाइन्छ ।
सचेतनाको अभावका कारण धेरै आमाहरुले आफ्नो दूध आएन भनेर बजारबाट लिएको पाउडर वा डेरीबाट ल्याइएको दुध खान दिने गरेको पाइन्छ । यस्तो गलत हो । ६ महिनाको नहुँदासम्म आमाकै दूूध खुवाउनु राम्रो हो । बच्चाका लागि आमाको दूध जति पोसिलो र उत्तम खाना अरु कुनै पनि छैन । आमाका लागि पनि यो त्यत्तिकै हितकर छ । जन्मिनेबित्तिकै दूध चुसाउँदा सालनाल बाहिर निस्कन र सुत्केरीपछि हुने रक्त श्राव कम गराउन सहयोग पुग्छ । पाठेघरलाई पहिलेकै ठाउँमा फर्कन सहयोग गर्नुका साथै स्तनपान गानिने र स्तन नली बन्द भई हुने समस्याबाट बचाउँन पनि यसले महत्वपूर्ण भूमिका खेल्दछ । स्तनपानका लागि सहयोग, प्रवद्र्धन र संरक्षण गर्न स्थानीय सरकारले पनि पहल गर्नुपर्दछ । हिजोआज आमाको दूध प्रतिस्थापन गर्ने वस्तुजस्तै पाउडर दूध, फर्मुला मिल्कको विक्री वितरण र प्रयोग अत्यधिक बढ्दै गइरहेको छ । पढेलेखेका र सहरी परिवार पनि सजिलोको लागि पाउडर दूध खुवाउने र कतिपय स्वास्थ्यकर्मीले सुरुमै नवजात शिशुलाई पाउडर दूध खुवाइदिने चलन छ । यसो गर्नु राम्रो होइन् । स्थानीय सरकारले जनचेतना जगाउनुको साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन अनुसार कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो गर्न सकियो भने मात्र स्तनपान सप्ताह मनाउनुले सार्थकता प्राप्त गर्दछ । यसर्थ यसतर्फ सम्बन्धित व्यक्ति, निकाय र स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।