Shittalpati
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात

गुल्मी, सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।  

गत वर्ष यहाँ २३ हजार ७ सय १८ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष झन् उत्पादन घट्ने अनुमान गरिएको छ । कम क्षेत्रफलमा धान लगाइएकाले पनि उत्पादनमा कमी आउन सक्ने बताइएको छ । गत वर्ष बर्खे धान आठ हजार ६ सय ७० हेक्टरमा लगाइएको थियो भने यस वर्ष गत वर्षभन्दा क्षेत्रफल घट्ने अवस्था देखिएको छ । जिल्लामा गत वर्ष चैते धान खेती ३ सय ४१ हेक्टर क्षेत्रफलमा गरिएको थियो । यस वर्ष  भने ३ सय ११ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष चैते धान उत्पादनमा घट्ने अनुमान गरिएको छ । धान उत्पादन घट्दै गएपछि चामल आयातमा भने वृद्धि भएको छ । गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार  जिल्लामा एक जनाले सरदर वार्षिक १ सय ३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्ने गर्छ । १७ हजार मेट्रिक टन चामल मात्र जिल्लामा उपलब्ध रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो तर अहिले त्यसको खपत घट्दो रहेकाले धेरै भात खाने बानीले चामलको खपत बढ्दो क्रममा रहेको भण्डारीको भनाई छ । मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको उनले बताए । किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा समेत धान उत्पादन वृद्धि हुन सकेको छैन् । धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा चामलमा बाहिरको भर पर्नुपरेको हो । धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको छ ।

कुनै बेला चामल निर्यात गर्ने जिल्ला अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन । सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । परम्परागत खेती प्रणालीले पनि उत्पादन बढ्न सकेको छैन । अहिले पनि धान खेती परम्परागत, निर्वाहमुखी र गैरव्यावसायिक रहेको छ । सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको हो । जिल्लामा हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी लगायत स्थानीय जातका धान कृषकहरूले लगाउने गरेको पाईन्छ । अहिले रैथानेभन्दा विकासे धान बढी लगाउने गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update