Shittalpati
मानसिक स्वास्थ्यमा लापरवाही नगरौं

पछिल्लो समय मानसिक समस्याले धेरै मानिसहरु ग्रसित बनेका छन् । यो आाम समस्याका रुपमा देखापर्दै गएको छ । यो चिन्ताको विषय हो । विभिन्न कारणले मानिसहरु मानसिक रुपमा विक्षिप्त हुने गरेका छन् । कोभिड पछिको समयलाई हेर्ने हो भने यो समस्या झन् विकराल बनेको छ । मानसिक समस्याकै कारण धेरैले आत्महत्यासम्म गरेका घटनाहरु छन् । पछिल्लो आत्महत्याका अधिकांस घटनाहरु मानसिक समस्याकै कारण हुन् । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण मानसिक समस्या देखिने गरेको छ । समस्या समाधानमा केन्द्र सरकारले यदाकदा मानसिक स्वास्थ्यका बारेमा न्यून चासो दिने गरेको देखिएपनि प्रदेश सरकार र स्थानीय तहहरू यो विषयमा अनभिज्ञ जस्तै छन् । मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको हो । विभिन्न सरकारी निकायहरू संवेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल मुद्दाहरू जहिल्यै लुक्ने गर्दछन् । यस्ता समस्याहरु लुकाउँदा र संवेदनशील नहुँदा पछिल्लो समय यसले जटिल समस्या उत्पन्न गराएको छ ।

सामाजिक र आर्थिक अवस्थामा आएको दबाबका कारण नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव परिरहेको छ तर, सरकारसँग भने यो अवस्थालाई न्यूनीकरण गर्ने संरचना र जनशक्तिको सर्वथा अभाव छ । सरकारले सामान्य स्वास्थ्य सेवासँगै मनोचिकित्सालाई पनि एकीकृत रूपमा अगाडि लैजानुपर्ने कागजी योजना बनाएको छ तर त्यो कार्यान्वयन हुन सकेको छैन । मानसिक स्वास्थ्य समस्याकै कारणले उत्पादकत्वमा आउने ह्रासले परिवार, समाज र राष्ट्रलाई नै ठूलो आर्थिक नोक्सानी पुगिरहेको छ । यस्तो अवस्थामा स्वयम नागरिकले मानसिक समस्यालाई सहजरुपमा लिनुहुँदैन । यसलाई लापरवाही गरियो भने यसले ठूलो क्षति पु¥याउन सक्छ । अर्कोतर्फ सरकारले समेत मानसिक स्वास्थ्यका क्षेत्रमा बजेट वृद्धि गरी मानसिक स्वास्थ्य समस्याको रोकथाम, उपचार र पुनःस्थापना कार्य गर्न सक्यो भने त्यसले नागरिक जीवन मात्र बच्ने नभई व्यक्ति, परिवार र राष्ट्रको पनि भलो हुनेछ । यसर्थ यसतर्फ स्वयं नागरिक र सरकार संवेदनशील बन्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update