पाल्पा, बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ । सरकारले विपन्न समुदायको आम्दानीका लागि नांगोमा परिणत हुँदै गएका डाँडा र खाली जग्गा कबुलियती वनका रूपमा समुदायलाई १५ वर्षअघि हस्तान्तरण गरेको थियो । वनमाराले ढाकेका स्थान अहिले अम्रिसोले हरियालीपूर्ण बनेका छन् ।
पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलिमारा गाउँमाथिको डाँडा एक दशकदेखि अम्रिसो आम्दानीको प्रमुख माध्यम बनेको छ । अम्रिसोबाट कुचो बनाएर बिक्रीबाट स्थानीयले राम्रै आम्दानी गरिरहेका छन् । यहाँका स्थानीय मिलेर सामुहिक रुपमा २८ हेक्टर क्षेत्रफलमा व्यवसायिक अमिस्रो खेती गरेका छन् । ढोलीमारा कबुलियत वन समूह र बेन्डाँडा कबुलियत वन समूहमा आवद्ध उपभोक्ताहरुले २०६८/०६९ मा वनमार सहितको झाँडी फाँडेर अम्रिसो लगाएका थिए । यहाँका ६० घर परिवार समूहमा आवद्ध रहेका छन् । उनीहरुले सुरुमा २० हेक्टर क्षेत्रलफलमा अम्रिसो लगाएका हुन् । त्यसबाट राम्रो उत्पादन हुन थालेपछि अहिले २८ हेक्टर क्षेत्रफलमा अम्रिसो लगाइएको छ ।
१२ वर्ष अघिसम्म गाउँभरिका डाँडामा वनमारा थियो । त्यस्ता डाँडाबाट पनि आम्दानी हुन्छ भन्ने सुन्दा ढोलिमाराका चित्रबहादुर कुँवरलाई पत्यार लागेको थिएन, तर त्यही समय जिल्ला वन कार्यालयले उनी र गाउँका केही व्यक्तिलाई निस्दी गाउँपालिका–३, झिरुबासमा भ्रमण गरायो । वनमार र झाँडी भएको डाँडामा अम्रिसो र तेजपात देखेपछि कुँवरलाई जाँगर चल्यो । उनले स्थानीय युवाहरुको साथ लिएर गाउँको जंगलको मनमारा फाँडे । जिल्ला वन कार्यालयले अम्रिसोका बिरुवा उपलब्ध गरायो । २०६८ सालमा उनीहरुले वनमाराले भरिएको डाँडामा अम्रिसो लगाए । गाउँदेखि माथिको नाङ्गोडाँडामा रोपेको अम्रिसोबाट अहिले उनीहरुले वार्षिक ५ लाख भन्दा बढीको आम्दानी गर्दै आएका छन् । जसबाट गाउँकै पहिचान फेरिएको छ । अम्रिसोको खेतीले स्थानीयको आयस्तर र जीवनस्तरमा समेत परिवर्तन आएको बेन्डाँडा कबुलियत वन समूहका अध्यक्ष समेत रहेका कुंवरले बताए । उनले भने ‘यहाँबाट वार्षिक ५ लाख बढीको अम्रिसोको कुँचो विक्री हुन्छ ।’ अम्रिसो रोपेको पहिलो वर्ष गोडमेल, कटान मै समय खर्चियौं, दोस्रो वर्षदेखि आम्दानी गर्न थालिएको ढोलीमारा कबुलियत वन समूहका अध्यक्ष पहलसिंह घर्ती मगरले बताए । यहाँ सुरुका वर्षमा ३ लाखदेखि ३ लाख ५० हजारसम्म आम्दानी हुन्थ्यो । अहिले ५ लाख भन्दा माथि हुने गर्दछ ।
यहाँको मैदान, साठ्ठीकोल लगायतका स्थानमा पनि अम्रिसो लगाईको छ । यहाँ पनि कबुलियति वन समूहमार्फ व्यवसायिक अम्रिसो खेती गरिएको छ । यी क्षेत्रबाट पनि वार्षिक १० लाख भन्दा माथि आम्दानी हुने गरेको छ । ढोलीमाराका उपभोक्ताले उत्पादन गरेको अम्रिसो बुटवल, भैरहवा, दाङ लगायतका जिल्लामा विक्री हुुने गरेको छ । केही समय अघि डिभिजन वन कार्यालयले पत्रकारसहितको टोलीबाट अम्रिसो खेतीको अवलोकन समेत गरेको थियो । अवलोकनमा पुगेका डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले गरे के हुन्न भन्ने उदाहरण ढोलीरामका उपभोक्ता बनेको बताए । उनले वनमार रहेको डाँडा फाडेर अम्रिसो खेतीबाट आयआर्जजनको माध्यम बनाएको बताए । भट्टराईले भने ‘यस क्षेत्रको आर्थिक र पर्यटकीय विकासमा अम्रिसो खेतीले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ वनले गरिबी निवारणमा टेवा पुर्याउन सहयोग गरेको उनले बताए ।
‘हैसियत बिग्रीएको वनका रुपमा परिचय बनाएका ठाउँ अहिले हराभरा भएका छन् । आम्दानी समेत दिन लागेका छन् । गाउँलेको जीवनस्तर उकास्न समेत मद्दत भएको छ’ भट्टराईले भने । जिल्ला वन कार्यालयको आर्थिक सहयोग र प्राविधिक सहयोगमा वनमाराले भरिएको डाँडालाई व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने कार्यमा आफुहरु लागिपरेको रेञ्जर यमलाल पोखरेलले बताए । अम्रिसोको फूलको कुचो, पातको घाँस, जराको औषधी तथा अन्य विरुवाको रुपमा विक्री हुने भएकाले यसको खेतीमा स्थानीयहरु समेत उत्साहित भएका छन् । समुदायले संरक्षण गर्न थालेपछि यस्ता कबुलियती वनमा चरिचरन बन्द गरिएको छ । वनमा समुदायले नै लगानी गर्छन् र त्यसबाट हुने आम्दानी पनि समुदाय आफैंले राख्छन् । काम र छलफल सामूहिक रूपमै गर्ने भए पनि त्यसको संरक्षण र आम्दानी भने समूहभित्रका व्यक्तिले नै लिन्छन् । अहिले अम्रिसोले राम्रै मूल्य पाएको छ । यहाँका उपभोक्ताले प्रति केजी १ सय ३० रुपैयाँमा विक्री गर्दै आएका छन् । अम्रिसोबाट आम्दानी भएको केही रकम सदस्यहरुको नाममा सहकारीमा बचत हुने गरेको छ भने केही रकम सदस्य आफैले बाड्ने गरेका छन् ।