पाल्पा,लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको हो ।
देशभरको तथ्याङ्कलाई हेर्ने हो भने डेंगी संक्रमितको संख्या ७ हजार २ सय ५३ पुगेको छ । जनवरी १ देखि संकलित यो तथ्यांक बिहिबारसम्मको हो । संक्रमित सबैभन्दा धेरै सुनसरीमा देखिएका छन् । जहाँ ४ हजार ६ सय ७९ जना संक्रमित भइसकेका छन् ।
संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएको छ । त्यहाँ मात्रै ५ हजार १ सय १ जनामा डेंगी संक्रमण भइसकेको छ । त्यसैगरी बाग्मती प्रदेशमा १ हजार १ सय ७१, गण्डकी प्रदेशमा ३ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२, मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित भइसकेका छन् । हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ । ईडीसीडीले डेंगीबाट हाल ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
पछिल्लो डेढ महिनायता डेंगी संक्रमण बढ्दै गएको छ । डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह समेत गर्दै आएको छ ।