पाल्पा,मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बुधबारदेखि भने बढेको छ । बुधबार घट्न रोकिएर सामान्य वृद्धि भएको नेप्से बिहिबार पनि बढेको हो ।
साता कारोबारको अन्तिम दिन बिहीबार अधिकांश कम्पनीको मूल्य घटे पनि बजारको परिसूचक नेप्से भने बढेको छ । कुल ७६ कम्पनीको मात्रै मूल्य बढ्दा १ सय ३० कम्पनीको घट्यो भने १२ को स्थिर रह्यो । परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ अंकमा कायम भएको छ । औसत रुपमा मूल्य घट्ने कम्पनीहरुको भन्दा बढ्ने कम्पनीको मजबुत पुँजीकरणका कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि समग्र परिसूचक नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । कुल १ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । बैंकिङ ६, जीवन बीमा ६३, उत्पादन १६, माइक्रोफाइनान्स १०, अन्य ८ र ब्यापार उपसमूह ५१ अंक बढे । निर्जीवन बीमा ४८, विकास बैंक ८, फाइनान्स २८, होटल तथा पर्यटन ३३ र जलविद्युत् उपसमूह १३ अंक घटे । सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो भने अभियान लघुवित्तको ७ प्रतिशत बढ्यो । प्रोग्रेसिभ फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सीईडीबी हाइड्रोपावर, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।