देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा देखिएको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि पूर्णरुपमा रोकिएको छैन । पछिल्लो केही दिन यता यो रोग क्रमशः शिथिल हुँदै गएपनि समस्या भने टरेको छैन । देशका केही जिल्ल्लाहरुमा यो रोगबाट गाई भैसीको मृत्यु भएका समाचार आइरहेकाले अझै निश्चिन्त हुने ठाउँ देखिदैन । लाखौं पशुको मृत्यु हुँदा किसानहरुले ५० अर्बबराबरको क्षति व्यहोर्नुपरेको छ । यसले किसानलाई मर्कामा त पा¥यो नै नेपाललाई दूध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने सरकारको अभियान समेत असफल हुँदै गयो ।
सरकारी तथ्यांक अनुसार करिब ११ लाख गाईभैंसीमा यो रोग लागेको छ भने ५० हजार भन्दा बढी गाई–भैँसी मरेका छन् । सरकारले संक्रमण रोक्न एलएसपी भ्याक्सिन प्रयोगमा ल्याइएपनि त्यो सबैको पहुँचमा पुग्न सकेको छैन । जसका कारण अझै पनि धेरै क्षति हुन सक्ने आंकलन गर्न सकिन्छ । औसतमा एउटा पशु मर्दा त्यसको क्षति ४९ हजार १ सय ३५ रुपैयाँ हुने अनुमान गरिएको छ । त्यस हिसाबले हेर्दा यो रोगबाट करिब ५० अर्बबराबरको क्षति पुग्ने देखिन्छ । यही आँकडालाई पूर्ण मान्ने हो भने पनि यो सबै गरिब किसानको क्षति हो । सरकारले ल्याएको बिमा नीति सबै किसानको पहुँचमा पुगेको छैन । अर्कातिर पशु सेवा विभागले यो रोगलाई महामारी भनेर व्याख्या गरेका कारण पशु बिमा गरेका किसानको पनि बिमा दाबी भुक्तानी रोकिएको छ । सैद्धान्तिक रूपमा कुनै पनि महामारी रोगलाई बिमाले भुक्तानी दिँदैन । यस्तो अवस्थामा किसानहरु थप निराश हुनु बाहेक अरु विकल्प छैन । पीडामा रहेका किसानहरुलाई थप उत्साह दिन र क्षति कम गर्न सरकारले उचित क्षतिपूर्ति दिन जरुरी छ ।