पाल्पा, रुपन्देहीको भैरहवामा कोठा भाडामा लिएर बस्दै आएकी कमला कार्की सरकारी जागिरे हुन् । उनले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिएन । छोरी जन्मिएको दुई/तीन महिना त आफ्नै साथमा राखेर दूध खुवाईन तर तीन महिनापछि भने उनले परिवारको साथमा छोडेर अफिस जाने गर्न थालिन् । त्यो समयमा परिवारले बजारबाट लिएको भैसीको दूध ति शिशुलाई खुवाउने गरे । कमलाले भैसीको दूध खुवाउन थालेपछि भने आफ्नो दूध खुवाउन छोडिन् ।
तानसेनकी मनिषा कुंवरले पनि आफ्नो छोरालाई ५ महिना पनि पूरै दूध खुवाइनन् । विद्यालय पढाउन जानुपर्ने भएकाले उनले छोरा जन्मिएको ४ महिनापछि बहिनीको साथमा छोडेर हिड्नुप¥यो । ‘विद्यालयबाट घर आउने समयको टुंगो नहुँदा छोरालाई पुरा समय आफ्नो दूध खुवाउन पाइन्, लामो समयपछि आफै सुक्दै गयो । चाहेजति दूध खान नपाएपछि छोराले आफै खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो,’ उनले भनिन् । आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइ हाल्ने कुंवले बताईन् । कार्की र कुंवर मात्रै हैन कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउदैनन् । पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् । ‘स्तनपान गराउने उद्देश्यले हरेक वर्ष अगस्ट पहिलो हप्ता स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि साउन १६ गतेदेखि २२ गतेसम्म स्तनपान सप्ताह चलिरहको छ, तर शिक्षित आमाहरु नै स्तनपान गराउने विषयमा त्यत्ति जागरुक छैन् । बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विज्ञहरू बताउँछन् । जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढ्दो भएता पनि ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । ६ महिना अवधिसम्म सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउँछन् भने ४४ प्रतिशत कृत्रिम दूध वा गाईभैंसीको दूध खुवाउँछन् ।
त्यस्तै, शिशु जन्मिएको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । आमाहरूले कामकाज गर्न घरमा बच्चा छोडेर जानुपर्ने बाध्यता छ । कतिपय आमाको सोचाइ सौन्दर्य बिग्रिन्छ भनेर पनि खुवाउँदैनन् । केही आमालाई स्तनपानको महत्व नै थाहा छैन । बजारमा पाइने बट्टाको दूध सजिलोसँग पाइन्छ भने किन दुःख गर्ने भन्ने सोचाइका कारण पनि धेरै शिक्षित आमाहरुले नै आफ्नो दूध खुवाउदैनन् । बच्चा जन्मेको जति सक्दो छिटो वा एक घन्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु राम्रो मानिन्छ । आमाको दूध बच्चाका लागि अमृत समान हो । सुरुमा आउने बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । यसले बच्चालाई झाडापखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउँछ । सजिलै पचाउन सक्ने आमाको दूधले शिशुको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ । पूर्ण स्तनपान गराएको बच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ ।