Shittalpati
सम्बन्ध मजबुत बनोस्

अन्तर्राष्ट्रिय मित्रता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिए पनि नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार मनाउने गर्दछन् । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी आज यो दिवस मनाइँदै छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो विश्वभरि नै मनाउने गरिन्छ । पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसँग भेटघाट तथा शुभकामना आदान–प्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । यो अत्यन्त राम्रो परम्परा हो ।

यो दिवसमा विशेषगरी मित्रताको प्रतिक स्वरुप साथीहरुको नाडीमा फ्रेन्डसिप ब्याड बाँधिदिने चलन रहेको छ । यस दिन साथीहरु जमघट भएर पार्टी गर्ने, उपहार आदान–प्रदान गर्ने पनि गरिन्छ । असल साथीको साथ पाउनु राम्रो हो तर, सबै साथी असल हुन्छन् भन्ने हुँदैन । कहिलेकाँही केही यस्ता भित्रहरु पनि भेटिन्छ, जसमा मित्रता भन्दा पनि आफ्नो स्वार्थलाई मात्रै ध्यान दिन्छन् । यस्ता मित्रहरुबाट भने टाढै रहनुपर्छ । साथीहरुसँग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनावबाट छुटकारा पाउनु यो दिवसको प्रमुख उद्देश्य हो । साथी भनेको आफ्नो हरेक दुख र सुखंंमा साथ दिने व्यक्ति हो । दुरीका हिसावले टाढा रहेका र साथीको सम्झनामा यो दिवस अत्यन्त महत्वपूर्ण हुन्छ । अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुटकारा पाउनका लागि पनि मित्रताले औषधिको काम गर्दछ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पीर परेर हुने खालका मानसिक समस्या मिल्ने साथी पाएपछि कम हुन्छन् । नेपालमा यो विषयमा व्यवस्थित अध्ययन नभए ता पनि यस्ता किसिमका धेरै घटना समाचारमा आएका हुन्छन् । यसर्थ मित्रहरुबिचको सम्बन्धलाई मजबुत बनाउन र असल मित्रहरुको खोजी गर्न यो दिवस सार्थक बनोस् । मित्रता दिवसको सबैमा शुभकामना ! 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update