Shittalpati
अप्पर हाइड्रोको आइपीओ खुला

पाल्पा, अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरेको हो । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ३२ गतेसम्म लम्बिने जनाइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरिएको जनाएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २ सय ३६ कित्ता आइपीओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले ३९ हजार ७ सय ६५ कित्ता सेयर कर्मचारीका लागि र ९९ हजार ४ सय १२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सो सहित कुल १९ लाख ५३ हजार २ सय ७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरिरहेको छ । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update