Shittalpati
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।
      
    जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि रायसुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उनले बताए । पर्यटनमन्त्रीको सुभेच्छुकबाट  सल्लाह, सुझाव र प्रश्नहरु लिन तथा त्यसको जवाफ दिन इ–हुलाकका फेसबुक पेज सञ्चालनमा रहेको छ । उक्त सेवाबाट मन्त्री किरातीले आज सन्देश पठाउनुभएको उनको निजी सचिवालयले जनाएको छ ।
      
    “नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरुलाई पत्र लेख्ने साहस गर्दैछु । तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रुपमा ‘इ–हुलाक सेवा’  सुरु गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो । त्यसका निम्ति क्षमाप्रार्थी छु साथै आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरुको सन्देश सधैँ आइरहनेछ”, पत्रमा भनिएको छ ।
      
    मन्त्री किरातीले हालसम्मका प्राप्त सन्देशले ध्यानाकर्षण गराएको र यस्तै सिर्जनात्मक सल्लाह, सुझाव र खबरदारी नै आफ्नो सबैभन्दा बलियो ऊर्जा र हौसलाको स्रोत बनिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update