Shittalpati
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल

पाल्पा, नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो । 

छलफलमा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य रामेश्वर पन्थीले पार्टी र प्रेस युनियनको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । उनले लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउन युनियन र नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका रहने भन्दै यी दुईबिचको सम्बन्ध सुमधुर हुनुु पर्ने बताए । काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरेले प्रेस युनियनको संस्थागत विकास र विस्तारमा काँग्रेसले आवश्यक सहयोग गर्ने बताए । उनले आफु पनि पत्रकारिता पेशाबाट आएकाले पत्रकारहरुको मर्म र भावनालाई राम्रोसँग बुझेको भन्दै उनीहरुको पेशागत संरक्षणमा आफुहरुको ध्यान जाने धारणा व्यक्त गरे । कार्यवाहक सभापति गहिरेले आगामी दिनमा पनि पार्टी र प्रेस युनियनबिच बेला बेलामा छलफल तथा अन्तक्र्रिया गर्दै जाने बताए । उनले पाल्पामा साउन २५ गतेदेखि सञ्चालन हुन लागेको पार्टीको आन्तरिक अभियानमा सहयोग गर्न प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । 

नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रेस युनियन पाल्पाका पूर्व सभापति जगदीश भट्टराईले स्थानीय मिडियाका लागि समानुपातिक विज्ञापन प्राणली कार्यान्वयन गर्ने दिशामा पार्टीले विशेष पहल गर्न जरुरी रहेको बताए । उनले भने ‘स्थानीय तहमा काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय मिडियाहरुलाई विज्ञापन नदिने र प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई नै बेवास्ता गर्ने गरिएको छ ।’ नेपाली काँग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले प्रेस युनियन र त्यसमा आवद्ध पत्रकारहरुका समस्याका विषयमा पार्टीले ध्यान दिने बताईन् । उनले पार्टीका हरेक गतिविधिहरुमा सशक्त ढंगले कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरिन् । सोही अवसरमा नेपाली काँग्रेसका नेता तथा बगनासकाली गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मी अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधेर आफुलाई फसाउन खोजिएको बताए । उनले पार्टीले यस विषयमा सत्य तथ्य बुझेर आफुलाई न्याय दिने काममा लाग्न समेत आग्रह गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनराज मगर, काँग्रेस नेताहरु लिला अर्याल,केशवराज शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, युनियन पाल्पाकी अध्यक्ष मन गहिरे, युनियनका  निवर्तमान जिल्ला अध्यक्ष भरत शर्मा, युनियनका सल्लाहकारहरु प्रकाश नेपाल, शंकर भण्डारी, मुक्तिप्रसाद न्यौपाने, युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझी, सचिव विष्णु घिमिरे, कोषाध्यक्ष दीपक भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए ।     


 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update