Shittalpati
लामखुट्टेको टोकाइबाट बचौं

पानी पर्न सुरु भएदेखि डेंगीका विरामी बढ्दै गएका छन् । देशभरका जिल्लाहरुमा डेंगीका विरामीहरु बढेका छन् । यो मौसममा बढी सचेत र सजग हुनुपर्छ । अहिले डेंगु महामारी ६९ जिल्लामा प्रवेश गरिसकेको छ । गर्मीयामको चरमोत्कर्ष बाँकी नै छ । मनसुनी याम असोजसम्मै रहन्छ, त्यतिबेलासम्म डेंगुको डर जाँदैन, लामखुट्टे सक्रिय भइरहन्छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।

डेंगी भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगी रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगीबाट बच्ने एकमात्र उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु हो । लामखुट्टे हुर्किने ठाउँ कम गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने र घरवरपर सफासुग्घर राख्ने गरेमा लामखुट्टेले सार्ने रोगबाट बच्न सकिन्छ । डेंगी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा, कहीँ पनि सफा पानी जम्मा भएको छ, धेरै दिनदेखि नचलाई त्यत्तिकै स्थिर बसेको छ भने त्यस्तो अवस्थामा हामी सजग तथा सचेत हुनुपर्छ । दिनहुँ डेंगु संक्रमितहरु बढ्दै गएपनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन ।

लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा ठूलो उपाय हो । यसका लागि हामीले कार्यस्थलमा रहँदा, घरपरिवारमा रहँदा सबै शरीर ढाक्ने कपडा प्रयोग गर्ने, सुत्दा दिउँसो भएपनि झुलको प्रयोग गर्नुपर्छ । यो लामखुट्टे हामीले थाहा नपाउने गरी हाम्रो घर वरिपरि प्रशस्त रहेको हुन्छ । घरमा राखेको थोरै फूलदानीमा यसले आफ्नो जीवनचक्र पूरा गर्नसक्छ । कुलरमा, एसीमा जमेको पानीमा अथवा फ्रीजमा जमेको पानीमा पनि यो सजिलै रहनसक्छ । यस्तो अवस्थामा हामी बढी सचेत रहनुपर्छ । आफ्नो घर वरिपरी, छतमा पानी ट्यांकी, ड्रम छ भने त्यसलाई बिर्को लगाएर राख्ने वा छोप्ने, ढाक्ने काम गर्न सक्यौँ भने लामखुट्टे नियन्त्रण गर्न सकिन्छ र लामखुट्टे नियन्त्रण भयो भने डेंगीको रोकथाम र नियन्त्रण गर्न सहज हुन्छ । यसर्थ लामखुट्टेको टोकाइबाट बच्ने कुरामा ध्यान दिनु अहिलेको आवश्यकता हो । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update