Shittalpati
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस

पाल्पा, लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले १८ औं स्थापना दिवस मनाएको छ । अडानले तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । अन्तक्र्रिया कार्यक्रममा लेखा व्यवसायलाई कसरी व्यवस्थित बनाउने, सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कर सम्बन्धी भएका व्यवस्था, मौद्रिक नीतिले पार्ने प्रभाव लगायतका विषयमा व्यापक छलफल तथा अन्तक्र्रिया भएको थियो ।

अडानका कोषाध्यक्ष राधेश्याम ज्ञवालीले सरकारले ल्याएको चालुआर्थिक वर्षको बजेटमा समावेश भएका कर प्रणाली, लेखा व्यवसायलाई कसरी व्यवस्थित बनाउने ?, करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा पारेको जोखिम, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमा वर्तमान अवस्था र आगामी कार्य र पछिल्लो आर्थिक स्थिति, मौद्रिक नीतिको व्यवस्था लगायतका विषयमा जानकारी गराएका थिए । उनले लेखापरीक्षकहरु बीच विभेद र अधिकारकटौती गर्ने कार्य निरन्तर चलिरहेको बताए । ज्ञवालीले भने ‘लेखा परीक्षकको अधिकार कटौती गरेर मुलुकमा सुशासन, अनुशासन र समृद्धि कायम हुन सक्दैन ।’ कार्यक्रममा सहभागी लेखापरीक्षकहरुले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको औल्याएका छन् । उनीहरुले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय भएकाले आर्थिक पारदर्शिताको सुनिश्चिताका लागि अकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने बताए । लेखापाल र लेखापरीक्षण पेशा एउटै जस्तो देखिएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।

लेखापालन र लेखापरीक्षण विल्कुल फरक कार्य रहेकाले लेखा राख्ने कार्य पनि लेखापरीक्षकलाई लाउने र जिम्मा लिने दुवै कार्य गलत भएको उनीहरुको भनाई छ । यस्ता कार्यबाट लेखापरीक्षणको निष्पक्षता कायम हुन नसक्ने भन्दै आफ्नो परिभाषित जिम्मेवारीप्रति सबै सचेत भएर काम गर्नुपर्नेमा लेखापरीक्षकहरुले जोड दिए । अडानले आर्थिक वर्ष २०८०/०८१ मा सदस्यता नविकरण गर्ने नयाँ सदस्ता थप्दै जाने, लेखापरीक्षण व्यवसायिलाई थप मर्यादित र प्रभावकारी बनाउदै जाने बताएको छ । अडानका जिल्ला अध्यक्ष सोमप्रसाद पौडेलको अध्यक्षता, कोषाध्यक्ष राधेश्याम ज्ञवालीको स्वागत, सचिव हिरा आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update