लुम्बिनी, वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् । बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ ।
सो स्थानमा साउनको केही दिनदेखि पटक पटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो । पहिरोसँगै ठूलाठूला ढुङ्गाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
यस्तै भालुवाङ्ग–प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त स्थानमा पाँच दिनदेखि पहिराले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मङ्गलबारमात्र खुलाइएको थियो ।