हाम्रा धार्मिक चाडपर्वहरु हामी सबैका आँगनमा तछाड मछाड गरेर आउँदैछन् । बर्षायामसँगै अहिले जताततै हरियालीमयी प्रकृतिको मनोरम आनन्दमयी वातावरण निर्माण भइरहेका बेला मानो रोपेर मुरी उब्जाउने चटारोसँगै मुलुक निर्माण गर्ने जिम्मेवार निकायहरु अहिले गैर राजनैतिक चरित्रको शिकार भएका छन् । राजनैतिक भाषण अनि मञ्च प्राप्त गर्ने होडवाजीले मुलुकको आर्थिक, समाजिक र राजनैतिक अवस्थामा गम्भीर खलल पुगेको स्थिति छ । नेपाल र नेपालीका गौरवका गाथाहरु अलमलमा परेको अनुभूति हुन थालेको छ । देश आर्थिक संकटको शिकार हुने खतरा दिन प्रतिदिन बढिरहको अवस्था प्रति हामी र हाम्रो सरकार अनि सरकार चलाउने राजनैतिक दलहरु सचेत र गम्भीर हुन सकेनन् ।
राजनीतिका नाममा अराजनैतिक चरित्रको विकास अनि गैरराजनैतिक स्वभावले गर्दा मुलुकमा केही पैसावाला र अनियमितता गर्ने बानी परेकाहरुको हातमा मात्रै शक्ति केन्द्रहरु रहेका कारण जनतामा नैरास्यता र अलमलको वातावरण निर्माण भइरहेको देख्दा युवा र केही नेपालमै गरौं भन्ने मनसाय भएका नागरिकहरुमा चिन्ता बढेको आभास हुन्छ । यस्ता क्रियाकलापले नेता भनेका भ्रष्टाचारमा रमाउने प्रवृतिका हुन्छन् या नेपालको राजनैतिक वृत अनियमितताको दलदलबाट बाहिरिन सकेन भन्ने गुनासाहरु पर्याप्त मात्रामा अगाडि आएका छन् । यस्ता तमाम समस्याहरुका निराकरणतर्फ ध्यान दिने भन्दा पनि गैरराजनैतिक चरित्रले गर्दा मुलुकका पुराना पार्टीहरुका नयाँ पुस्ता सक्रिय र जोसिलो देखिदैनन् । दिन दहाडै, सुन तस्करी अनि गैरकानुनी कामले प्रशय पाइरहदा अनुसन्धानले गलत सावित गरेकाहरु पनि कतिपय पावर र सत्ताको दम्वमा कानुनको दायरामा ल्याउँन नसक्नु आफैमा अत्यान्तै गम्भीर समस्याहरु हुन् । संस्थागत अपराधका घटनामा परिवर्तनकारी र क्रन्तिकारी पार्टीका नेताहरु समावेश हुनु आफैमा अत्यान्तै दुःखद् पक्ष हो । त्यसकारण भ्रष्टहरुलाई कार्यवाही नहुँदासम्म गैरभ्रष्टहरुले सहन नसक्ने भएका कारण यो समस्याको सही र समयमा समाधान खोज्नु नै वर्तमान सरकारको हो । गल्तीलाई ढाँक छोप नगरी निष्पक्ष रुपमा छानवीन गरी दोषीलाई कार्यवाही हुनु तितान्त आवश्यक छ । यति नगर्दा सम्म मुलुक कहिल्यै पनि विकासको गतिमा अगाडि बढ्न सक्दैन ।