Shittalpati
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित

पाल्पा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको हो ।

साउन १० यता लगातार संसद अवरुद्ध गर्दै आएको एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताएपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न  पटक –पटक आग्रह गरे पनि एमालेको अवरोध कायमै रहेपछि उनले प्रतिनिधिसभा बैठक साउन २६ सम्मका लागि स्थगित गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा  सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा आग्रह गरेका थिए । सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उनको भनाइ थियो । मंगलबार पनि एमालेले संसद अवरुद्ध गरेको थियो ।

राष्ट्रिय सभा बैठकमा पनि अवरोध
यस्तै एमालेले बुधबारको राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ । एमालेका सांसदहरूले राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा प्रवेश गर्ने क्रममा सिटबाट उभिएर अवरुद्ध गरेका हुन् । राष्ट्रिय सभामा सांसदहरू सिटबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ । राष्ट्रिय सभाको बैठक साउन २६ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

साउन २ मा राजश्व विभागले क्विन्टल सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । उसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू साउन १० यता चल्न दिएको छैन । यतिबेला सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू आरोप प्रत्यारोपमै उत्रिएका छन् । सरकारले राजस्व अनुसन्धान विभाग र प्रहरीले सुन तस्करीको छानबिन नियमित रूपमा गरिरहेकाले त्यसबाहेकको संयन्त्र गठन गर्न आवश्यक नरहेको बताउँदै आएको छ । एमालेले प्रधानमन्त्री र मन्त्री नै सुन तस्करीमा संलग्न रहेको आशंका आफूलाई रहेको दाबी गर्दै आएको छ । सत्तापक्षका नेताहरुले भने सुन तस्करीमा राजस्व अनुसन्धान विभाग र प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरी संसद् अवरुद्ध गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update