नेपाल सहित विश्वभर आदिवासी दिवस मनाइएको छ । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो हरेक वर्षको अगष्ट ९ मा मनाउने गरिन्छ ।
यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूको विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवद्र्धन गर्नु हो । नेपालका आदिवासी जनजातिहरूले यो दिवसलाई आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । यस वर्ष बुधबार पनि नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । आदिवासी जनजाति आन्दोलन पहिचान, अधिकार र पहुँचको आन्दोलन हो । जागरण र कर्तव्यको आन्दोलन पनि हो यो । अधिकार र पहुँच प्राप्तिका लागि राज्यसत्तामा दबाब सिर्जना गर्नुपर्दा तल्लो तप्कासम्म चेतना र क्षमता विकास गर्नुपर्छ । यस्तो दबाबमूलक आन्दोलन राजनीतिक प्रकृतिको हुन्छ भने जागरण र कर्तव्यको आन्दोलन सामाजिक आन्दोलन हो । आदिवासी जनजाति आन्दोलन राजनीतिक र सामाजिक आन्दोलनको सम्मिश्रण हो, तर अहिले कुहिरोमा रुमल्लिएको काग जस्तै भएको छ ।
पछिल्लो समय नेपालमा जनजाति आन्दोलन कमजोर हुँदै गएको छ । जनजाति आन्दोलनले प्राप्त गरेका धेरैजसो उपलब्धि अहिले कानुनी दस्तावेज र सम्झौतापत्रमा मात्रै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन् । संवैधानिक प्रावधानका रुपमा कुनै पनि जातजाति, समुदाय, वर्गलाई भेदभाव गर्नु कानुनी अपराध भनिएको छ, तर पनि सामाजिकरुपमा आदिवासी जनजातिहरुप्रति समान व्यवहार हुन सकेको पाइदैन् । उत्पीडित आदिवासी जनजातिहरू विश्वभरि जहाँ भएपनि उनीहरू शोषित पीडित हुन् र उनीहरूको समस्या एउटै प्रकृतिको छ । त्यसकारण आफ्नो हकअधिकार र मुक्तिका लागि विश्वभरिका उत्पीडित आदिवासी जनजातिहरू आफैले कठोर संघर्ष गर्नु पर्दछ तर, यस्तो संघर्ष जनजाति एक्लैले मात्र गरेर सफल हुँदैन । त्यसका लागि आफूहरूजस्तै उत्पीडनमा परेका अन्य वर्ग र समुदायसँग पनि एकता गर्न जरुरी छ ।