Shittalpati
काँग्रेस पाल्पाले सुरु गर्‍यो विशेष आन्तरिक अभियान

पाल्पा, नेपाली काँग्रेस पाल्पाले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा पनि विहीबारदेखि १० दिने विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।

अभियानको केन्द्रीय सदस्य तथा पाल्पा प्रतिनिधि रंगमती शाहीले एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरेकी हुन् । अभियानको शुभारम्भ गर्दै केन्द्रीय सदस्य शाहीले पार्टीका आन्तरिक  कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एककाईसौ सताब्दीको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सञ्चालन गरिएको बताईन् । उनले केन्द्रीय समितिले आफुलाई पाल्पाको जिम्मेवारी दिएर पठाएकाले १० दिनसम्म चल्ने अभियानमा साथ दिन पार्टीका सबै तप्काका नेताहरुलाई आग्रह समेत गरेकी छन् ।

केन्द्रीय सदस्य शाहीले पाल्पाको गौरवमय इतिहासलाई हेरेर आफुले पाल्पा रोजेको पनि बताईन् । उनले भनिन्‘ इतिहासमा यहाँका नेताहरुले देशका लागि गरेको योगदान र काँग्रेसका नेता विपी कोइरालाले समेत पाल्पालाई हरेक कोणबाट रोज्ने गरेका कारण पनि यहाँबाट केही कुरा सिक्न पाल्पा रोजेकी हुँ ।’ अभियानले पाल्पा काँग्रेसलाई कसरी बलियो र थप चलायमान  बनाउन सकिन्छ भन्ने कुरामा आफुले काम गर्ने केन्द्रीय सदस्य शाहीले बताईन् । उनले गुट, उपगुट र तेरो, मेरो नभनिकन अभियानमा लाग्न पार्टीका सबै नेताहरुलाई आग्रह गरिन् । शाहीले भनिन् ‘मेरा दुईवटा आँखाले काँग्रेस मात्र देख्छ, यहाँ कुनै गुट, उपगुट र त्यो, उ म सँग नभन्नु होला , यस्ता कुरा म सँग हुन सक्दैन,मैले सबैलाई एक देख्छु , अभियानमा सबै काँग्रेस एक भएर अगाडि बढऔं ।’ उनले एक किसिमको खाका लिएर आफुहरु गाउँ–गाउँ पुग्ने बताईन् । समयको आवश्यकताअनुसार अब पार्टी अगाडि बढ्नुपर्ने बेला आएको पनि केन्द्रीय सदस्य शाहीले बताईन् । 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले अभियानका बारेमा जानकारी गराउँदै पार्टीलाई थप सशक्त र गतिशिल प्रदान गर्न केन्द्रीय परिपत्र अनुसार पाल्पामा आजैदेखि अभियान सुरु भएको बताए । उनले केन्द्रीय, प्रदेश र जिल्ला प्रतिनिधिहरुको सहभागीतामा पूर्णता नपाएका पार्टीका हरेक संरचनाहरुलाई पूर्णता दिने, वडा, पालिका, प्रदेश, क्षेत्रमा व्यापक बैंठक गर्ने, पार्टीका भातृ संस्था, शुभेच्छुक संस्थाहरुको बैंठक बस्ने लगायतका कामहरु अभियानमा हुने बताए । सभापति गहिरेले  सबै तहमा गाउँ सेवा दल गठन गर्ने पनि बताए । उनका अनुसार स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्यले गाउँ सेवा दल गठन गरिने छ । ‘जिल्लाभर सबै गाउँ, वडामा हाम्रो पार्टीको संगठन छ, ती संगठनको मातहतमा रहने गरी गाउँमा रहेका युवाहरूको संलग्नतामा ‘गाउँ सेवा दल’ गठन हुन्छ,’ सभापति गहिरेले भने, ‘ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन्, जनताको सुखदुखमा साथ दिन्छन् ।’ ‘ठाउँ अनुसार समाजमा विभिन्न समस्या आउँछन् । कतै सुत्केरी महिलालाई बोकेर अस्पताल पुर्‍याउनुपर्ने हुन सक्छ कतै पहिरो जान्छ, कतै आगलागी हुन्छ । यस्ता प्राकृतिक विपद्सँगै सामाजिकरुपमा समेत विभिन्न समस्याहरू आउँछन्, त्यस्तो समस्याका बेला सेवा दल नागरिकको साथमा हुन्छ,’ उनले भने ।

अभियानका लागि केन्द्रीय समितीबाट केन्द्रीय सदस्य रंगमती शाही, प्रदेश समितिबाट अमर भण्डारी, विष्णु पोखरेल, सावित्रा टण्डन, भीम आले प्रतिनीधीको रुपमा खटिएका छन् । प्रतिनिधीहरुले अभियानको उद्देश्यबारे जिल्लालाई जानकारी गराएका छन् । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजनप्रसाद पन्त, काँग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेश सदस्य वीरबहादुर राना लगायतका नेताहरुले अभियान सफल पार्न सबै तह र तप्काबाट सक्रिय भएर लाग्नु पर्ने बताए । अभियान शुुभारम्भ कार्यक्रममा काँग्रेसका वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला तहका नेताहरुको सहभागीता रहेको छ । कार्यवाहक सभापति झपेन्द्र गरिहेको अध्यक्षता, उपसभापति ज्ञानबहादुर गाहाको स्वागत सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा काँग्रेसका सबै तहका नेताहरुले अभियानका बारेमा आ–आफ्ना धारणा राखेका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update