Shittalpati
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’

गुल्मी (तम्घास), नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बैंठक हलमा प्रस्ताव गरेको एउटा एजेण्डा सुन्नासाथ केन्द्र, प्रदेश र जिल्लाका सयौं नेताहरुले तालि बजाए । बैंठक हलमा गाई गुई भयो, तर सहभागी सबैका अनुहारमा खुसी छायो । सबैले भने ‘काँग्रेस बल्ल जनताका आवाज  बोल्दै छ ।’  

आखिर के थियो त त्यो प्रस्ताव ? सधै जनताले भोगी रहेको समस्या बादर आतंक नियन्त्रणलाई राज्यस्तरबाटै सोचिनुपर्ने माग नेपाली काँग्रेसको केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने प्रस्ताव सहितको एजेण्डा बैंठकको ‘हट केक’ बन्यो । संसदीय अभ्यास गर्ने प्रणालीलाई अवलम्वन गर्दै आएको काँग्रेस गुल्मीको बैंठकको परम्परालाई चरितार्थ गर्दै पार्टीका सचिव भगत सिंह खड्काले बादर आतंक नियन्त्रण सम्बन्धी नीति निर्माणका लागि देश भरिबाटै केन्द्रलाई दवाब दिने कुराको अगुवाई गुल्मीले शुरु गर्नुपर्ने धारणा राखे ।

अर्का सचिव जगदीश भट्टराईले बादर आतंक जस्तै जिम्मेवार नेता र कार्यकर्ताहरुबाट सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यलाई नेपाली काँग्रेसको विशेष आन्तरिक अभियान २०८० ले रोक्ने तर्फ सबैको ध्यान दिनु नितान्त आवश्यक भएको धारणा राखे । नेपाली काँग्रेसका युवा नेता महेन्द्र भण्डारीले पार्टीका हरेक गतिविधीहरु आम सर्वसाधारण जनताका समस्याहरु प्रति  केन्द्रीत हुुनुपर्ने  धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले विशेष अभियान पछि काँग्रेसका हरेक आन्तरिक क्रियाकलाप र संगठनका बाँकी काम पुरा हुने बताईन् । नेपाली काँग्रेसका केन्दीय सदस्य अब्दुल सतारले नेपाली काँग्रेस अब विगतलाई भजाएर खाने खालको राजनीति गर्ने भन्दा पनि वर्तमान मुलुकको आवश्यकता अनुरुप काम गनुपर्ने धारणा व्यक्त गरे ।  नेपाली काँग्रेसले गुल्मीले विहीबारदेखि विशेष आन्तरिक अभियान समेत सुरु गरेको छ । उसले केन्द्रीय समितिको परिपत्र अनुसार पार्टीका आन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एककाईसौ शताब्दीको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सञ्चालन गरिएको जनाएको छ । बैठकमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यहरु विष्णुकुमारी सापकोटा, सुवास केसी, लक्ष्मण पन्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update