Shittalpati
औपचारिकतामै सिमिति नहोस् युवा दिवस

अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणा अनुसार हरेक वर्षको १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि राष्ट्रिय युवा परिषद्ले दिवसका दिन विभिन्न नारा तय गरी कार्यक्रम गर्ने गर्दछ तर, दिवसका नाराहरू केवल उक्त दिनका लागि मात्रै बन्ने गरेका छन् । नाराको उद्देश्य र यसलाई सार्थकता प्रदान गर्ने कार्यक्रमहरू विरलै हुन्छन् । नारालाई लक्ष्यमा पु¥याउन वर्षभरिका लागि के, किन, कसले, कहिले, कहाँ, कसरी ? गर्ने भन्ने जवाफदेही र जिम्मेवारी तथा प्रगतिको अनुगमन, निरीक्षण र मूल्यांकनका स्पष्ट कार्ययोजनाको खाँचो पर्छ, तर त्यस्तो भएको पाइदैन । अहिले युवालाई आर्थिक, शारीरिक, मानसिक, सामाजिक सशक्तीकरण र स्वाभिमानी बनाउने खालका नीति तथा कार्यक्रमको पर्याप्तता र प्रभावकारिता खट्किएको छ । ऊर्जाशील युवाहरूको रोजगारीका लागि विदेशिने लर्को दिन–प्रतिदिन बढ्दो रहेको जगजाहेर नै छ ।

राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य युवामा रहेको हुन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर सरकारले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएको हो । सरकारले निर्माण गर्ने कानुन, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुनुपर्दछ । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसो गर्न सके मात्र युवा दिवसले सार्थकता पाउँदछ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update