Shittalpati
वर्षा भइरहेको छ, सतर्क रहौं

केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु आवश्यक छ । अहिले नियिमत भइरहेको वर्षाका कारण धेरै ठाउँहरुमा बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपद्को सामना गर्नु परिरहेको छ । बाढीपहिरोजन्य घटनामा परेर ज्यान गुमाउनु परेको र कयौं बेपत्ता भएका समाचारहरु आइरहेका छन् । कृषिकर्मका लागि आवश्यक परेको बेला नियमित वर्षा नहुँदा तराई मधेशलगायत क्षेत्रमा किसानले रोपाइँ गर्न नपाएको र सिँचाइ सुविधा नहुुँदा रोपाइँ भएको टाउँमा समेत रोपो सुक्न थालेको बेलामा अविरल वर्षाले किसानलाई केही राहत पुुगे पनि बाढी र पहिरोले देशभरकै जनजीवनमा असर परेको कुरा नकार्न सकिदैन ।

अझै केही समय नदीको जल सतह बढ्ने, बाढी, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन आवश्यक छ । प्राकृतिक विपद् वा प्रकोपलाई निमिट्यान्न पार्न सकिँदैन । प्राकृतिक, दैवीप्रकोपहरू व्यहोर्न मानव जाति बाध्य छ, तर विपद्हरूको जोखिम न्यून गर्न चाहिँ सकिन्छ । कमभन्दा कम क्षति कसरी हुन सक्छ ? मानवीय, भौतिक क्षति कम गर्न प्रारम्भमै तयारी गर्न सक्ने हो भने प्राकृतिक विपद्ले निम्त्याउने असर कम गर्न सकिन्छ । विपद्लाई व्यहोर्नैपर्छ, तर यसलाई व्यवस्थापन गर्ने उचित उपाय अवलम्बन समयमै गर्न सकिए, यसको जोखिम न्यूनीकरण हुन सकिन्छ । बाढी पहिरो प्रभावित जनतालाई समयमै सूचित गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट रोक्न सकिन्छ । यसर्थ यसतर्फ सरकार र आम नागरिक सतर्क हुुन जरुरी छ ।  

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update