Shittalpati
आज दश अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

पाल्पा, आज आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुन लागेको छ । विकास ऋणपत्र २०८८ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष रहेको छ । उक्त विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ऋण उठाइदिन लागेको हो ।

विकास ऋणपत्र आज आइतबार अपराÞन ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्कासन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्ने छन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र  एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update